काठमाडौं । सुरक्षामा खटिएका सुरक्षाकर्मी नै कोरोनाको सङ्क्रमणबाट असुरक्षित देखिएका छन् । कोरोना संक्रमण रोकथामका लागि खटिएका सुरक्षाकर्मीमा सङ्क्रमण बढ्दै गएको छ । हिजो आइतबारसम्म दुई सय ९७ सुरक्षाकर्मीमा सङ्क्रमण देखिएको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत चार प्रहरीमा पनि आइतबार सङ्क्रमण देखिएको पुष्टि भएको छ ।
प्रदेश १ का मोरङ, झापा र इलाममा सङ्क्रमण देखिएको छ । नेपाल प्रहरीका एक सय १९ कर्मचारीमा हालसम्म सङ्क्रमण देखिएको र त्यसमध्ये ९५ जना निको भइसकेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीका ९१ कर्मचारीलाई सङ्क्रमण भएको छ । नेपाली सेनाका ८७ जनामा सङ्क्रमण देखिएको छ । ७० जना पूर्ण रूपमा ठीक भएर काममा फर्किसकेको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७, ०६:४०