काठमाडौं ।
नेपालभरि भन्डै ३५ सयको हाराहारीमा पुल छन् ।
बर्षाका बेला अधिकांश पुलहरू अवरुद्ध हुँदा नागरिकले बाटो वारपारमा निकै सास्ती खेप्नु परेको छ ।
बर्षासँगै पुलकै कारण अधिकांश ठाउँका बाटा अवरुद्ध हुने गरेका छन् । बनेका र बन्दै गरेका पुलको गुणस्तरका बारेमा भने बारम्बार प्रश्न उठ्ने गरेको छ ।
बाजुराको मार्तडीका तुलबहादुर थापालाई गुइगाडखोला पुलमा हिड्न निकै डर लाग्छ । पुल जोड्दा नै तेर्सो जोडिएको छ । कुन बेला पुल खस्ने हो भन्ने मनमा ठुलै डरको गाँठो बोकेर बाटो वारपार गर्नुपर्ने वाध्यता छ ।
त्यसको नजिकै एउटा झोलुङगे पुल छ । धेरै मान्छे त त्यसैबाट ओहोदोहोर गर्छन् । किनकी यसै साता बुढीगङ्गा नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने घट्टेखोलाको पुल भत्कियो ।
बढीमालिकाको जड्ङगामा रहेको पुल पनि जोखिममा छ । सडक विभाग र स्थानीय प्रशासनलाई पटक पटक ध्यानाकर्षण गराउँदा पनि पुल मर्मतमा खासै चासो नदिएको थापाको गुनासो छ ।
सडक विभागका अनुसार म्याग्दीको जोमसोम वेनी जोड्ने पुल पनि निकै जोखिममा छ । पुल नहुँदा र भएका पनि जिर्ण बन्दै गएकाले स्थानीयलाई सामान ढुवानीमा समेत दोब्बर पैसा खर्चिनु परेको छ ।
विभागका अनुसार अहिले देशभर ३५ सय बढी पुल छन्, जसमध्ये १५ सय भन्दा बढी पुल निर्माणाधीन अवस्थामा छन् । निर्माण भएका र रणनीतिक सडकमा पर्ने जुन सञ्चालन भइरहेका छन्, ती पुलको संख्या २ हजार ६ छ ।
सामान्यतया एउटा पुलको आयु ५० देखि ठूला पुलको आयु १ सय बर्षसम्म हुन्छ । तर कति ठाउँमा समय अगावै पुल भत्किएका छन् ।
खोलाहरूबाट अत्यधिक ग्राभेल झिकिएका कारण ति ठाउँका पुलहरू जिर्ण बन्दै जोखिममा र भत्किने अवस्थामा पुगेको सडक विभाग अन्तर्गतको पुल महाशाखाका महानिर्देशक दिपक भट्राईले बताउनुभयो ।
उहाँका अनुसार पुर्ननिर्माण र पुराना पुल हटाएर नयाँ बनाउने अनि अवरुद्ध बाटो खुलाउने काम भइरहेको छ ।
स्थानीय सडकमा पनि ५ सय पुल बनिसकेका छन् । लगातारको बर्षाले देशभरका मुख्य राजमार्ग जोड्ने ३ वटा पुल पूर्ण रुपमा क्षति भएको छ भने ३ वटा पुल उच्च जोखिममा छन् ।
पुल भत्किएर अवरुद्ध सडक सञ्चालन गर्न सडक विभाग लागिपरेको छ ।
सडक विभागका महानिर्देशक केशव कुमार शर्माका अनसार वर्षाले बाटो तथा पुलमा क्षति हँुदा करिब डेढ अर्ब बराबरको सडक सम्पत्ति नासिएको छ ।
पुल बनीसकेपछि बिग्रनु र त्यसपछिको मर्मतको कुरा बेग्लै हो । तर निर्माण सम्पन्न नहुँदै पुल खोलामा झर्नु र भत्काउनुपर्ने अवस्था आउनुको पछाडी भने सरकार र निर्माण कम्पनीको लापरबाही हो भन्ने बुझिन्छ ।
घटना भइसकेपछि तात्तिनु भन्दा पनि कहाँ बिग्रीएका छन्, कहाँ बनाउनु पर्नेछ, त्यतातिर योजना बनाएर निरन्तर लाग्दा भविष्यमा हुने जोखिमबाट बच्न सकिने विज्ञहरूको सुझाव छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७, ०६:४३