काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति बैठक आज बोलाइएको छ । पार्टी विवाद टुंग्याउने विषयमा दुई अध्यक्षबीच सहमति जुट्न नसक्दा बैठकको समय ११ बजे निर्धारण गरेपनि निश्चित भने छैन ।
विवाद जस्ताको तस्तै छ। दुवै पक्ष आआफ्नो अडानमा टसमस भएका छैनन । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि विवाद उत्कर्षमा छ।
बहुमतका आधारमा स्थायी कमिटीमा निर्णय गरेर अघि जाने विषयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधवकुमार नेपाल पक्ष छ भने बहुतकै आधारमा राजीनामाको प्रस्ताव पारित गर्न नदिने रणनीतिमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली रहनु भएको छ ।
अध्यक्ष प्रचण्ड,वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको बैठक नरोक्न र प्रधानमन्त्री सहमतिमा नआए पनि बैठक अघि बढाउने हिजो सहमति गर्नु भएको छ । पार्टी कमिटीबाटै बहुमत रअल्पमतकै आधारमा निर्णय प्रक्रियामा जानेमा एकमत देखिएको छ । वरिष्ठ नेता खनालले आजको बैठक नरोकिने बताउनु भएको छ ।
हिजो अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको प्रचण्ड र माधब नेपाल पक्षका नेताहरुको छुट्टै बैठकले भोलीको बैठक नरोक्ने निष्कर्ष निकालेका थिए । प्रधानमन्त्री एवम अर्का अध्यक्ष ओलीले पनि हिजै आफू निकटका केही नेताहरुसंग छलफल गर्नुभएको छ ।
सीआईएनसंग कुरा गर्दै नेकपा स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङ्ले पनि दुइ नेताबीचमा सहमति भैसकेकाले आजको बैठक नरोकिने बताउनुभयो ।
स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने एजेण्डा प्रवेश गरेपछि असार १८ गतेदेखि सहमतिका भन्दै बैठक लगातार स्थगित हुँदै आएको छ । प्रचण्ड नेपाल पक्षले बहुमतका आधारमा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने प्रस्ताव स्थायी समितिमा पेश गर्ने तयारी थालेको छ ।
४४ स्थायी समिति सदस्यमध्ये २३ नेता एकातिर उभिँदा मात्र पार्टीभित्र बहुमतको अवस्था रहन्छ। नेकपाको सचिवालय ९ सदस्य र थप ३५ नेतासहित ४४ सदस्यीय स्थायी समिति छ। स्पष्ट बहुमत सदस्य दुवैपक्षमा देखिदैन ।
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७, ०६:५०