खड्क सुनार, रेडियो मुगु, मुगु
नेपालको सबै भन्दा ठुलो ताल रारा, यतिबेला सुन्दर फूलहरूले ढाकिएको छ । रारा वरपर थरीथरीका फूलहरू फुलिरहेका छन् । जसले वातावरणलाई नै रंगिन बनाइदिएको छ ।
विश्वभर फैलिएको कोरोना भाइरस महामारीका कारण भएको लकडाउनको असर रारामा पनि परेको छ । यतिबेला रारा घुम्न आउने पर्यटक छैनन् । जसका कारण रारा सुनसान छ ।
कोभिड १९ का कारण रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आवागमन शुन्य भएको हो ।
गत वर्षहरूमा यो समय दैनिक एक हजारदेखि १५ सयसम्म आन्तरिक पर्यटक रारा पुग्ने गरेका भएपनि कोरानाका कारण यो बर्ष भने रारा, पर्यटकलाई पर्खिरहेको छ ।
फूलको आँखामा फूलै संसार..............
रारामा ताल वरपर ढकमक्क फुलेका फूलले रारालाई झनै सुन्दर बनाएको छ ।
रारा ताल, आफैंमा सुन्दर छ । यही सुन्दर तालको वरीपरी फुलेका विभिन्न प्रजातिका फूलहरूले यहाँको वातावरण रंगिन बनाएको छ ।
प्रकृतिले सिँगारिएको राराले खैरो, बैजनी र निलो गरी दिनमै तीन पटक रूप बदल्ने गर्दछ ।
यतिबेला रारा क्षेत्रमा फुलेका फूलले राराताललाई झन् मनमोहक बनाएको नेपाल पत्रकार महासंघ मुगु शाखाका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल बताउनुहुन्छ ।
मुर्माटपसम्म पुगरे रारादेखि वरपरका बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यो मौसम रारा भ्रमणका लागि उपयुक्त हुने महासंघ अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताउनुभयो ।
तर कोरानाको कारण सुनसान रारामा बन्दाबन्दी खुलेसँगै तालमा रमाउन यतिबेला आन्तरिक पर्यटक फाट्टफुट्ट पुग्ने गरेका छन् ।
कोरोना भाइरस र त्यसको नियन्त्रणको लागि गरिएको लकडाउनले रारामा पर्यटक आउन रोकिए पनि राराको सुन्दरतामा भने कुनै कमी आएको छैन ।
सुन्दर रारा र ताल वरपर फुलेका फूलहरू पर्यटकलाई पर्खिरहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन १६, २०७७, ०७:२९