काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूले आज बकर ईद मनाउँदैछन् । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक परम्परा छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दसौँ दिन मनाउने गरिन्छ ।
हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिक धार्मिक अगुवाहरूको भनाइ छ ।
नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने धार्मिक परम्परा छ ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएकोमा जोड दिँदै आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति भण्डारीले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बकर ईद पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभएको छ ।
बकर ईदको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभएको छ ।
सभामुख अग्नि सापकोटाले पनि बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७, १०:३१