प्यूठान । प्यूठानका किसानलाई यतिबेला चैते धान भित्र्याउने चटारो छ । चैत महिनामा लगाएको धान साउनमा पाक्छ, त्यही धान भित्र्याउन किसानलाई अहिले भ्याइ नभ्याइ छ ।
ऐरावती गाउँपालिका ५ गोठिबाङ्गका किसान हरि थापाले २० रोपनी जग्गामा चैते धान लगाउनुभएको थियो । अहिले उहाँलाई धान भित्र्याउने हतारो छ ।
सिँचाई सुविधा भएका कारण ऐरावतीका ३ सय ५० भन्दा बढि परिवारले चैते धान रोप्ने गरेका छन् । पानीको लागि एकदमै सजिलो रहेको किसान बताउँछन् ।
मल्लरानी गाउँपालिकाको चुजाठाँटी, स्वर्गद्धारी नगरपालिकाको केही स्थान र ऐरावती गाउँपालिकाको बरांैला, बिजुली, गोठिबाङ्ग, टिकुरी, लादम लगायतका ठाउँमा चैते धान रोप्ने गरिन्छ ।
बाह्रैमास बग्ने ठाडाखोलाको पानी लगाएर प्यूठानका किसानले तीनबाली भित्र्याउने गर्छन् । बर्खे धानको तुलनामा चैते धानको उत्पादन धेरै हुन्छ । उत्पादन बढि हुने भएकाले ऐरावती क्षेत्रमा चैते धानको रोपाई हुने गरेको छ ।
चैते धान लगाउन दुःख भएपनि छोटो समयमा पाक्ने र उत्पादन पनि बर्खे धानको भन्दा राम्रो हुने गरेको ऐरावती ५ हरियागाउँकी सम्झना राउतले बताउनुभयो ।
चैते धानको चामल राम्रो हुने र चिउरा बनाउन पनि उपयुक्त हुने किसानहरू बताउँछन् ।
जिल्लाको कुल ४२ हजार हेक्टर खेतियोग्य जमिनमध्ये ६ हजार ५ सय ५० हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । यसमध्ये एकसय हेक्टर क्षेत्रफलमा चैते धान रोपाई हुन्छ ।
गत बर्ष प्रतिहेक्टर ३ दशमलव ८७ मेट्रिक टन धान उत्पादन भएकोमा यो बर्ष बढेर प्रतिहेक्टर ४ मेट्रिक टन पुगेको प्रधानममन्त्री कृषि आधुनिकिकरण परियोजना धान जोन इकाई प्यूठानका निमित्त प्रमुख सुमन खनालले बताउनुभयो ।
चैतमा रोपिएको धानले बर्खे धानको तुलनामा उत्पादन राम्रो दिने भएपनि सिँचाई र जनशक्ति अभावका कारण अहिले प्युठानमा चैते धान रोप्ने क्रम भने घट्दै गएको छ ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७, १४:०४