काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी र राष्ट्रिय सङ्कटलाई विरोधको अवसरका रूपमा लिने प्रवृत्ति फेर्नु पर्ने वताउनु भएको छ ।
कोभिड–१९ र यसको रोकथामबारे स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले महामारी सबैको साझा चुनौती भएकाले त्यसलाई मिलेर सामना गर्नु पर्ने वताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना महामारी नियन्त्रण सरकारले गर्ने कामले मात्र सफल नहुने जनाउँदै जति धेरै जनचेतना जगाउन सक्यो यस विरुद्धको लडाईँ त्यति छिटो सफल हुने वताउनुभयो ।
‘कोभिड–१९ को विश्वव्यापी महामारी नियन्त्रण सरकारले गर्ने काम र प्रयासले मात्र सम्भव छैन, जनतामा चेतना जति बढाउन सकिन्छ, कोरोनाविरुद्धको लडाईँ जित्न त्यति सजिलो हुन्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
उहाँले यस्ता राष्ट्रिय सङ्कट र महामारीलाई विरोधको अवसरका रूपमा लिने प्रवृत्ति बढेकाले यस्तो परिपाटी त्याग्नुपर्ने धारणा राख्नुभयो ।
‘यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध, कहिले लकडाउन किन नगरेको भनेर विरोध, कहिले किन लकडाउन नखोलेको भनेर विरोध । सामाजिक अनुशासनले कोरोना पराजित गर्न मद्दत पुग्छ, यसलाई विरोधको अवसर ठान्नु हुन्न ।’ प्रधानमन्त्रीले थप्नुभयो ।
ओलीले स्वास्थ्यकर्मी, उपकरण, संरचना आदि सबै हिसावले कमजोर रहेको अवस्थामा पनि सबै प्रवन्ध गरेर कोरोना नियन्त्रणका लागि प्रभावकारी कदम चालेको वताउनुभयो ।
उहाँले जनतामा हुने असन्तुष्टि र आक्रोशलाई आफूले स्वाभाविक रुपमा लिने वताउँदै फरक आस्था र विश्वासकै कारण राम्रो कामको पनि विरोध गर्ने प्रवृत्तिसँग भने सजग रहनु पर्ने विचार राख्नुभयो ।
कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्र गुरागाईंले प्रतिदिन १८ हजार जनासम्मको पीसीआर परीक्षण गर्न सक्नेगरी ल्याब स्थापना गरिएको र हालसम्म ४ लाख जनाको परीक्षण गरिएको रिपोर्ट प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा प्रमूख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागि हुनुहुन्थ्यो ।
प्रकाशित मिति: मंगलबार, साउन २०, २०७७, १७:२४