काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट उच्चतहका व्यक्ति नै जोखिममा परेका छन् । प्रधानमन्त्रीसहित उच्चतहका व्यक्तिको सम्पर्कमा आएकाहरुमा कारोना सङ्क्रमण देखिएपछि जोखिम बढेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सुरक्षा दलका ६ जना सदस्यलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो । गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीलाई पनि जोखिमको सूचीमा राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग साउन १४ यादवको भेट भएको थियो । प्रधानमन्त्रीलाई ‘क्लोज कन्ट्याक्ट’को सूचीमा राखिएको छ ।
मन्त्री यादव साउन १४ प्रहरी समायोजनसम्बन्धी समन्वय समितिको बैठकमा सहभागी हुन काठमाडौं आउनु भएको थियो । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे पनि सङ्क्रमित हुनु भएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन २२, २०७७, १४:००