काठमाडौँ । श्रमिकले जम्मा गरेको करोडौँ रकम सरकारी निकायको समन्वय अभावमा नोबेल कोरोना भाइरसकको महामारीका कारण बिभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारमा खर्च हुन नसकेको पाइएको छ ।
कोरोना महामारी सुरु भएको ५ महिना वित्दा पनि विदेशमा अलपत्र नेपालीको निशुल्क उद्धार हुन नसकेको हो । यद्यपी चार्टर्ड उडानमार्फत नेपालीहरूलाई स्वदेश फर्काउने काम भने नियमित भइरहेको छ ।
बिभिन्न मुलुकमा अलपत्र ४९ हजारभन्दा धेरै नेपाली आफैले भाडा तिरेर काठमाडौँ फर्किसकेका छन् ।
वैदेशिक रोजगार वोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले हालसम्म मलेसियाबाट मात्र ८ सय नेपालीको उद्धार गर्नुपर्ने प्रस्ताव त्यहाँस्थित नेपाली दूतावासले पठाएको सीआईएनसँग बताउनुभयो ।
उद्धार उडानका लागि बनाइएको कार्यविधिसँग मेल खाने जोकोहीलाई पनि सरकारले उद्धार गर्ने उहाँको भनाइ छ ।
वोर्डले नेपालीको उद्धारका लागि चालु आर्थिक वर्षमा ७५ करोड रुपैयाँ छुट्टाएको छ । अलपत्र नेपालीको निशुल्क उद्धारको वातावरण मिलाउन माग गर्दै परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले गत असार १ मा अलपत्र नेपालीको निशुल्क उद्धार गर्न सरकारलाई भनेको थियो ।
तर सर्वोच्चको उक्त आदेश आएको डेढ महिनाभन्दा धेरै बित्दा पनि आदेश कार्यानवयन भएको छैन ।
वोर्डका सूचना अधिकारी सुवेदीले भने आफ्नै खर्चमा फर्कन सक्नेहरू र निशुल्क रूपमा ल्याउनुपर्नेहरूको बारेमा समन्वय भइरहेको दावी गर्नुभयो ।
कोरोनाका कारण स्वदेश फर्किएका १ सय ८७ जनालाई भने काठमाडौँबाट सम्बन्धित व्यक्तिको घरसम्म पुर्याउनका लागि सहयोग गरिएको वोर्डका प्रवक्ता सुवेदीले जानकारी दिनुभयो । बोर्डको पहलमा बन्दाबन्दीका बीच पनि २ सय ४६ नेपालीको शव नेपाल ल्याइएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २४, २०७७, १६:१२