काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चितवन माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन सरकारले सहयोग गर्ने बताउनुभएको छ ।
राम मन्दिरका लागि बजेटको कुनै कमी हुन नदिने प्रधानमन्त्रीले प्रतिबद्धता जनाउनुभएको छ ।
माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको नेतृत्वमा बालुवाटार पुगेको एक टोलीसँग हिजो कुराकानी गर्दै प्रधानमन्त्रीले रामसँग सम्बन्धित मुर्ति, मन्दिर स्थापनामा जोड दिन निर्देशन दिनुभयो ।
टोलीमा उपमेयर ताराकुमारीकाजी महतो, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समिति माडीका संयोजक नारदमणि पौडेल, नेकपा माडी नगर कमिटीका अध्यक्ष प्रभुप्रसाद महतो, माडी नगरपालिका प्रवक्ता एवं वडाध्यक्ष सुवेदी, अयोध्या खोज अनुसन्धान तथा व्यवस्थापन समितिका सदस्य साध्यबहादुर भण्डारीलगायतका थिए ।
दुई घन्टाको छलफलमा प्रधानमन्त्री ओलीले रामको जन्मस्थान माडीको अयोध्यापुरी नै रहेको दाबी गर्दै मन्दिर बनाउन निर्देशन दिनुभयो । ‘रामजन्म माडीको अयोध्यापुरीमा नै भएको हो भन्ने विषयमा प्रधानमन्त्रीलाई धेरै नै जानकारी रहेछ । त्यसैले अयोध्यापुरीलाई राम जन्मभूमिको रूपमा विकास गर्न निर्देशन दिनुभएको छ, बजेटको कुनै कमी हुँदैन भनेर विश्वास पनि दिनुभएको छ,’ नगरपालिकाका प्रवक्ता सुवेदीले भन्नुभयो ।
सकेसम्म सहमति जुटाएर माडी नगरपालिकाको नाम नै परिवर्तन गर्न पनि प्रधानमन्त्रीले टोलीसँग अनुरोध गर्नुभएको छ । प्रधानमन्त्रीले आउँदो रामनवमीमा नै उद्घाटन गर्न मिल्ने गरी केही भौतिक काम गर्न पनि निर्देशन दिनुभएको छ ।
‘प्रधानमन्त्रीले आउँदो दसैँमा कम्तीमा पनि रामको जन्मभूमिको झल्को हुने गरी मूर्ति अनावरण गर्ने, राम–लक्ष्मण वा सीताको प्रतिमा बनाउने र कुनै मेला, महोत्सव वा जात्रा आयोजना गर्न भन्नुभएको छ । तर, हामीले त्योभन्दा पहिले मध्यबर्खामा घरवारविहीन चेपाङको वास के गर्ने हो भनेर सोध्यौँ,’ मेयर ढकालले भन्नुभयो, ‘राम मन्दिर बनाउँदै गर्दा चेपाङका झुप्रा पनि उठ्नुपर्छ, जनताको भलो गर्ने कम्युनिस्ट पार्टीको सरकार भएका वेला गरिबका घर भत्काउने र मन्दिर मात्र बनाउने हो भने अत्याचार हुन्छ भन्ने मत हामीले राख्यौँ ।’
चेपाङको वासको विषयमा भने वन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र रक्षा मन्त्रालयसहित बसेर समाधान गरिने आवश्वासन पाएको मेयर ढकालको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७, ०७:०३