सिमकोट/हुम्ला ।
बिहानी र दिवा सत्रमा कक्षा सञ्चालन गर्ने गरी हुम्लाका विद्यालयमा पठन पाठन सुरु भएको छ । सातवटा मध्ये चारवटा गाउँपालिकामा सम्बन्धित स्थानीय तहको निर्णय अनुसार पठनपाठन सुरु भएको हो ।
हुम्ला कोरोना सङ्क्रमण मुक्त जिल्ला भएकाले लकडाउन सुरु भएको चार महिना १७ दिनपछि, बिहिबारबाट सिमकोटका २८, खार्पुनाथका १७, नाम्खाका १६ र ताँजाकोट गाउँपालिकाका १८ वटा विद्यालयमा पठनपाठन सुचारु भएको हो ।
लामो समयपछि पढाइ सुरु हुँदा सिमकोटको मानसरोवर माध्यमिक विद्यालयका विद्यार्थी आकृती बोहरा र लोकजन भण्डारी निकै खुशी हुनुहुन्छ ।
आकृतिले भन्नुभयो, ‘हामीलाई खुल्ला वातावरण पाएकोजस्तो, मुक्त भएकोजस्तो अनुभव भइरहेको छ । धेरै दिनपछि पढ्न पायौं । यो रोगबाटै मुक्त भएको जस्तो भइरहेछ ।’
अर्का विद्यार्थी लोकजन भण्डारी भन्नुहुन्छ, ‘चार महिना बस्दा हामीलाई धेरै तनाव थियो, आज यो स्कुल देख्दा हामीलाई धेरै खुशी लागिरहेको छ ।’
कोरोना सङ्क्रमणको जोखिम नहोस् भनेर विद्यालयले बिहानी र दिवा गरी दुई शत्रमा कक्षा सञ्चालन गरेका छन् । तर पनि विद्यार्थीमा सङ्क्रमणको डर भने कायमै छ ।
बालमन्दिर माध्यमिक विद्यालयका छात्रा संगीना शाही विद्यालय सुरु भएपनि कोरोना भाइरसको सङ्क्रमण हुने हो कि भन्ने डर उत्तिकै रहेको बताउनुहुन्छ ।
शाही भन्नुहुन्छ, ‘विद्यालय त सुरु भयो तर कोरोनाको सङ्क्रमण हुने हो कि भन्न डर पनि छ । तर विद्यालय खुलेर एकदमै खुशी छौं ।’
लामो समय बन्द रहेका विद्यालय सञ्चालन भएपछि शिक्षकहरू समेत खुशी छन् । एउटै कक्षालाई दुई सत्रमा पढाउनु पर्दा कामको भार थपिए पनि उनीहरूले त्यसलाई बोझको रुपमा लिएका छैनन् ।
बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले भन्नुभयो, ‘डर डरका बीचमा भएपनि ज्यानमा उर्जा आएजस्तो भएको छ । पढाउने मन, उत्साह त छ तथापी हामीलाई कस्तो समस्या झेल्नुपरेको छ भने, सबै विद्यार्थी भाइबहिनीहरूलाई एउटै क्लासमा टन्न भरी राखेर पढाउँथ्यौं, त्यस्तो अवस्था छैन । ’
रोकायाले अझै थप्नुभयो, ‘अरु बेला भन्दा अलि बढि दुःख गर्नुपरेको छ । बिहान हामी साढे ६ बजेदेखि स्कुल आउँछौं, बेलुका ४ बजेसम्म । ३५ मिनेटको एउटा कक्षा हुन्छ ।’
तर लकडाउनसँगै तितरवितर भएका शिक्षक र विद्यार्थीलाई कक्षा कोठामा ल्याउन भने, चुनौति छ । मानसरोवर नमुना माध्यमिक विद्यालयका प्राचार्य अमरबहादुर शाही सरकारले बनाएको मापदण्डलाई पालना गर्दै सामाजिक दूरीसहितको पठनपाठन सुरु गरिएको बताउनुहुन्छ ।
शाहीले भन्नुहुन्छ, ‘सरकारले बनाएको मापदण्डलाई टेक्ने प्रयास पनि गरिएको छ । सामग्रीहरू व्यवस्थापन गरेर, सामाजिक दुरी कायम गरेर, विद्यार्थीहरूलाई मास्कको व्यवस्था गरेर कक्षाहरू सञ्चालन भइरहेको छ । र, लामो समयसम्म ग्याप भएको कारणले गर्दा विद्यार्थीहरू र अविभावक पनि अन्यौलमा रहेकाले सम्पूर्ण विद्यार्थीहरू उपस्थित हुन सकेका छैनन् । हामी ति सम्पूर्ण विद्यार्थीहरूलाई उपस्थित गराउने प्रयासमा लागिरहेका छौं । ’
सम्बन्धित स्थानीय तहको निर्णय अनुसार सामाजिक दुरी कायम गर्दै जिल्लाका चारवटा स्थानीय तहका विद्यालयमा पठनपाठन सुरु हुँदा अविभावक पनि खुशी भएका छन् ।
तर सम्बन्धित स्थानीय तह र विद्यालयले कोरोना सङ्क्रमणको सम्भावित जोखिमलाई ख्याल गर्नुपर्ने उनीहरूको सुझाव छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, साउन २५, २०७७, ०७:५३