काठमाडौं । कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणमा लकडाउन कायम नराखेपनि सरकारले क्षेत्रगतरुपमा कडा नीति तय गरेको छ । सङ्क्रमणको जोखिम बढेसँगै सरकारले नेपाल भारत सीमा नाकामार्फत हुने आवागमन बन्द गरेको छ ।
२ सय भन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित देखिएका जिल्लामा लकडाउन गर्ने अधिकार स्थानिय प्रशासनलाई दिएको छ । सार्वजनिक गतिविधिहरूमा कडाइ गर्ने निर्णय गरेको छ। हवाई सेवा र सार्वजनिक यातायात भदौ १६ गते यता खोल्न नदिने निर्णय छ।
भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीका लागि तोकिएका सीमाविन्दुमा झापाको काकड्भिट्टा, मोरङ्गको रानी, सिराहाको माडर, रौतहटको गौर र पर्साको वीरगञ्ज छन्।
रूपन्देहीको वेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुनाह, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा प्रवेश विन्दु तोकिएको छ।
ती प्रवेशविन्दु बाहेक अन्यत्रबाट प्रवेश गर्ने गराउनेलाई कडा कारबाही गरिने भन्दै सीमा नाकाबाट अवैध रूपमा प्रवेश गर्नेहरूलाई लुकाउने व्यक्तिहरूलाई पनि कारबाहीको दायरामा ल्याइने सरकारले भनेको छ ।
सरकारी तथा गैरसरकारी निकाय एवं अन्य संघ संस्थालाई विद्युतीय सेवा प्रवाह गर्न र कार्यसम्पादनका लागि आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारी एक पटकमा कार्यलयमा रहने व्यवस्था मिलाउन भनिएको छ।
प्रकाशित मिति: बुधबार, साउन २८, २०७७, ०७:१८