काठमाडौं । समुदायस्तरमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुगेनपुगेको पत्ता लगाउन वृहत जाँच गरिने भएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले यसका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषदबाट स्वीकृति लिइएको जानकारी दिएको छ ।
पछिल्लो समय वीरगञ्ज र विराटनगरमा समुदायमा संक्रमण फैलिएको स्थानीय चिकित्सकहरुले बताउने गरेका भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा स्वीकार गरेको छैन ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अधिकारीहरुले भने समुदायमा ब्यापक रुपमा नभई क्लस्टर वा समूहमा संक्रमण देखिएको बताएका छन् । सेरोलजिकल गर्न लागिएको र यसले संक्रमण समुदाय स्तरमा पुगे नपुगेको पत्ता लगाउने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सीआईएनसँग बताउनुभयो ।
सातवटै प्रदेशका विभिन्न उमेर समूहका मानिसको ३–५ मिलिलिटर रगत संकलन गरि राष्ट्रिय जनश्वास्थ्य प्रयोगशामा त्यसको परीक्षण गर्ने तयारी भएको छ । परीक्षणमा कोरोना परीक्षण नगरेका तथा यसअघि परीक्षण गर्दा नेगेटिभ आएकाहरु सहभागी हुनेछन् ।
र, उनीहरुको शरीरमा इम्युनोग्लोबुलिन जी (आईजीजी) एन्टीबडी भए नभएको हेरिनेछ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले भने स्वास्थ्यकर्मीहरुको सेरोलजिकल जाँच छुट्टै गर्ने तयारी गरेको छ ।
यसका लागि प्रोटोकल तयार गरेर मन्त्रालयसँग बजेट माग गरिएको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०७७, ०७:५२