काठमाडौँ । काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघटमा रोक लगाइएको छ ।
काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले खुला स्थानमा भेला हुने, भीडभाड गर्ने र सभाजुलुस गर्न निषेध गरेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सीआइएनलाई जानकारी दिनुभयो ।
गएराति १२ बजेदेखि आगामी भदौ १५ गते राति १२ बजेसम्मको लागि प्रतिबन्ध लगाइएको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको छुट्टाछुट्टै आदेशमा उल्लेख गरिएको छ ।
‘काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने प्रणालीमा कडाइ नगरिएका कारण कोरोना भाइरसको सङ्क्रमण तीव्र गतिमा बढेको निष्कर्षका साथ यस्तो निर्णय गरिएको हो ।’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो ।
प्रकाशित मिति: शनिबार, साउन ३१, २०७७, ०९:३३