काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीको उद्धार गर्ने काम आजदेखि फेरि सुरु गर्ने भएको छ । आज उद्धारका लागि तीनवटा ‘चार्टर तथा उद्धार उडान’ गरिनेछ । हिजो बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको छ । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ ।
कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयम्ले व्यहोर्नुपर्ने छ । विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ ।
एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मन्त्रिपरिषदले मापदण्ड तोकेको एकजना मन्त्रीले सीआईएनलाई जानकारी दिनुभयो ।
यो निर्णयसँगै माग भएका ठाउँहरुको उडान तालिका बनाएर चार्टर उडान सुरु हुनेछ । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो ।
त्यसैगरी सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको छ । होटल खर्च व्यक्ति आफैंले व्यहोर्नुपर्ने छ । नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्नेछ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७, ०८:००