काठमाडौं ।
वैदेशीक रोजगारीका क्रममा रहेका र अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्ने काम आजबाट फेरि सुरु हुने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा रहेको सीससीएमसीको निर्देशनपछि बन्द भएको उद्धार उडान आजबाट सुरु हुने भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार आजदेखि दैनिक पाँच सय नेपालीलाई स्वदेश फिर्ती वा उद्धार गरिने तालिका बनाइएको छ ।
नयाँ तालिका अनुसार आज साउदी अरेबियाबाट एयर अरेबियाले उडान गर्नेछ । भोली आबुधाबीबाट फ्लाई दुबईले उडान गर्ने भएको छ । पर्सी ११ गते नेपाल एयरलाइन्सले रियादबाट, हिमालयन एयरलाइन्सले दम्मामबाट र टर्किस एयरले इस्तानबुलबाट उद्धार उडान गर्नेछन । १६ गतेसम्म कुन देशबाट कति यात्रु ल्याउने तालिका बनाइएको छ ।
टर्किस र कतार एयरलाइन्सले एक पटकमा एक सय जनाभन्दा बढी यात्रु ल्याउन नपाउने भएका छन । अब नेपाल आउने यात्रुले अनिवार्य रूपमा पीसीआर परीक्षण गरेको र त्यसको रिपोर्ट नेगेटिभ आएकै हुनुपर्ने छ ।
उडान हुने समयभन्दा ७२ घण्टाअघि आएको रिपोर्टमात्र मान्य हुने व्यवस्था छ । नेपाल आइसकेपछि सबै यात्रु अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नुपर्नेछ ।
पीसीआर परीक्षण सहज भएका मुलुक मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, संयुक्त राष्ट्रसङ्घ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्र नेपाल ल्याउने गरी नियमित उडान खोलिने पनि जनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७