सोलुखुम्बु ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम सुरु भएपछि सोलुखुम्बुबाट ९ जना गर्भवती तथा सुत्केरीको उद्धार गरिएको छ ।
आर्थिक बर्ष २०७५/०७६ बाट कार्याक्रम सुरु भएपछि ९ जना महिलाको हेलिकप्टर मार्फत उद्धार गरि काठमाण्डौ पठाइएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उद्धार गरिएका मध्ये महाकुलुङ गाउँपालिकाका ३ जना, सोताङ र खुम्बु पासङल्हामु गाउँपालिकाका २/२ जना तथा नेचासल्यान गाउँपालिकाका १ जना रहेका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीकुमारी शाहीले जानकारी दिनुभयो ।
सुरुवाति चरणमा उद्धार गरिएका १ जनाको भने ठेगाना उल्लेख नभएको कार्यालयले जनाएको छ ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धारलाई तीव्रता दिएको हो ।
सो कार्यक्रम अन्तरगत दुर्गम क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई जिल्ला प्रसाशन कार्यालयको समन्वयमा उद्धार गर्ने गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले तयार गरेको उद्धारसम्बन्धी कार्यविधि, २०७५ अनुसार सोलुखुम्बु सहित २९ जिल्लामा पूर्णरूपले र अन्य केहि जिल्लाहरुमा आंशिक रुपले यो कार्यक्रम लागू भएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७, १६:१४