काठमाडौं ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणद्वारा आयोजित राष्ट्रिय परिसंवादको तेस्रो दिन हिजो साँस्कृतिक सम्पदा एवं सम्पदा बस्तीहरुको पुनर्निर्माणमाथि छलफल भएको छ ।
साँस्कृतिक सम्पदा पुनर्निर्माणमाथि कार्यपत्र प्रस्तुत गर्दै सोधकर्ताहरुले समुदायको सहभागिता एवं सक्रियताले सम्पदा पुनर्निर्माण प्रभावकारी भएको मात्र नभई अपनत्व महशुस गरेको पाइएको जानकारी दिनुभयो ।
वरिष्ठ सम्पदाविद् सुदर्शनराज तिवारीले सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिताले स्वस्थ अभ्यास स्थापित हुने बताउनुभयो ।
डा. रोहित जिज्ञासुले भूकम्पका कारण क्षति पुगेका सम्पदाहरुको पुनर्निर्माण उपभोक्ता समितिको सहभागिता सफल देखिएको धारणा राख्दै सम्पदा पुनर्निर्माण गर्दा प्राचीन शैली, सामग्री र प्रविधिको प्रयोग गरिरहँदा त्यसलाई भूकम्प प्रतिरोधी बनाउनतिर पर्याप्त ध्यान दिइनुपर्ने बताउनुभयो ।
भक्तपुरका तीनवटा मन्दिरहरु न्यातपोल, भैरवनाथ र भत्सालाको पुनर्निर्माण एवं जिर्णोद्दारको तुलनात्मक अध्ययन गर्नुभएकी शोधार्थी एवं भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशी श्रेष्ठले समुदायको सहभागिता हुँदा प्रविधिको हस्तान्तरण हुनुका साथै स्वयमसेवाको भावना पनि जागृत भएको पाइएको उल्लेख गर्नुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली उपभोक्ता समितिमार्फत सम्पदाहरु पुनर्निर्माण गर्दा राम्रो परिणाम आएको बताउँदै त्यसमा समुदायको सहभागिता र आर्थिक पारदर्शिता कामय गर्नमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
परिसंवाद कार्यक्रममा सम्पदा पुनर्निर्माणमा समुदायको सहभागिताका विभिन्न पक्षमा मनोज सुजी, रिजा जोशी, रुपेश श्रेष्ठ र डा.सविन निङ्लेखुले पनि आफ्नो अध्ययनका निश्कर्षहरु प्रस्तुत गर्नुभएको थियो ।
उहाँहरुले उपभोक्ता समितहरुमार्फत् काम गराउँदा कम खर्चमा काम भएको, पारदर्शिता कायम भएको, गुणस्तरीय काम भएको र उनीहरुमा स्वामित्वको भावना जागृत भएको उल्लेख गर्नुभयो ।
परिसंवादको दोस्रो सत्रमा ऐतिहासिक सम्पदा वस्तीहरुको पुनर्निर्माण माथि अध्ययन गर्नुभएका विपुल रावल, सूर्यभक्त सांघाछे, अदिति ढकाल, डा.पुनम राज्यलक्ष्मी राना, मनोहर राजभण्डारी र रविना शिल्पकारले आफ्नो शोधका निश्कर्ष र सुझावहरु प्रस्तुत गर्नुभएको थियो ।
हिजै, तेसो सत्रमा भूकम्पप्रभावितहरुको जीविकोपार्जन एवं आर्थिक विकासमाथि छलफल भयो ।
डा.मिन बहादुर पौडेल क्षेत्री, डा.सुरोज पोखरेल र डा.निर्मल कुमार राउतले प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.शंकर शर्मा र क्यानडाका विज्ञ डा.नाइजल फिसरले टिप्पणी गर्नुभएको थियो ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७