सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीका पहिरो प्रभावित बस्ती छोडेर सुरक्षित स्थानमा सर्न थालेका छन् ।
जुगल गाउँपालिका र जिल्ला विपद् व्यवस्थापन समितिले विस्थापित भएकाहरुलाई अस्थायी रुपमा सुरक्षित स्थानमा राख्न सेलाङको बाँसखर्क सामुदायिक वन उपयुक्त भएको निष्कर्ष निकालेको छ ।
सोही अनुसार लिदीबाट हिँडेको ११ घण्टामा अस्थायी बासस्थानसम्म विस्थापित आईपुग्न थालेका छन् ।
लौरो टेक्दै बाँसखर्क पुग्नुभएका एकजना विस्थापितले भन्नुभयो, ‘ घर छैन, चिन्ता लागेर पनि के गर्नु ? उता सबै पहिरो गयो ।’
अहिले बाँसखर्कमा एक सय २५ परिवारका लागि अस्थायी बसोबासको प्रबन्ध मिलाइएको छ । हालसम्म १ सय २१ परिवार बाँसखर्क पुगेका छन् । खानेपानी, इन्धनसँगै शौचालयको पनि समस्या हुनसक्ने चिन्ता विस्थापितहरुलाई छ ।
अर्का विस्थापितले भन्नुभयो, ‘खानेकुराको समस्या हुन्छ होला । उता भए बनाउन पाइन्थ्यो, यता त आफ्नो नामको जग्गा छैन ।’
विस्थापित मध्येकै एकजना पुरुषले भन्नुभयो, ‘घर छैन, लगाउने कपडा छैन । यत्तिकै आयौं । ’
विस्थापित परिवार ओढ्ने ओछ्याउने र भाँडाकुँडाको पनि चिन्ता गरिरहेका छन् । भूकम्प लगत्तै पनि पनि लिदी लगायत आसपासका करिब ५ सय स्थानीय बाँसखर्कमै आएर बसेका थिए ।
तर पछि सरकारले वनको जमिन भएको भन्दै यहाँ बस्न नदिएपछि उनीहरु आफ्नै थातथलोमा पर्किएका थिए । फेरि पनि त्यस्तै समस्या झेल्नु पर्ला कि भन्ने चिन्ता उनीहरुलाई छ ।
एकजना युवाले भन्नुभयो, ‘हाम्रो लिदीमा बाबु बाजेको धेरै जग्गा छ । तर यहाँ त सरकारले त्यो दिन सक्दैन । यति धेरै परिवार छौं, दाउरा काट्न थालियो भने यो जंगल एकैवर्षमा सकिन सक्छ । हामीलाई रोडको पनि व्यवस्था हुनुपर्यो, खानेपानी चाहियो । र सरकारले हाम्रो बासस्थानको राम्रो व्यवस्था गरिदिनुपर्यो ।’
नयाँ ठाउँमा केही न केही सीप र रोजगारीको पनि व्यवस्था हुनुपर्ने माग विस्थापित युवाहरुको छ ।
बाँसखर्कको पुगेका लिदीबासीलाई अब त्यँही नै नमुना बस्ती बनाएर स्थायी बसोबास गराउने तयारी भइरहेको सभामुख अग्नीप्रसाद सापकोटाको भनाइ छ ।
साउन २९ गते आएको पहिरोले लिदीका ३९ जनाले ज्यान गुमाएका थिए ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७, ०९:३०