पर्वत ।
गण्डकी प्रदेशको राजधानी पोखरामा एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ११ निवासी ३२ वर्षिया एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भई भदौ ११ गतेदेखि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल कोभिड १९ विशेष कक्षमा आईसीयूमा उपचाररत ति महिलाको आज बिहान ८ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।
यो सँगै उक्त अस्पतालमा मृत्यु हुने कोरोना सङ्क्रमितको संख्या ५ पुगेको छ ।
यसैबीच, गण्डकी प्रदेशका ५ जिल्लामा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज तनहुँमा ९ जना, बागलुङमा ८ जना, लमजुङमा ४ जना, नवलपुरमा ३ जना, कास्की र पर्वतमा १/१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
पोखरा स्थित क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेज भरतपुरमा गरिएको स्वाव परीक्षणमा उनीहरूमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
सङ्क्रमित हुनेमा तीन जना महिला र अरू २३ जना पुरुष रहेका छन् ।
निर्देशक शर्माका अनुसार पर्वत जिल्ला, जलजला गाउँपालिकाका सङ्क्रमित भारतबाट आएका हुन् । बागलुङ नगरपालिका १ का सङ्क्रमित नेपाल प्रहरीमा कार्यरत छन् ।
त्यसैगरी बागलुङ नगरपालिका ८ का सङ्क्रमित भारतबाट आएका हुन् । लमजुङको बेशीसहरमा कार्यरत नेपाल आर्मीका २ जना र एकजना पालिकामा कार्यरत कर्मचारीमा सङ्क्रमण देखिएको छ ।
कास्कीको पोखरा महानगरपालिका १६ का ७६ वर्षिय एक वृद्ध पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा इमरजेन्सीमा भर्ना भएका बिरामी हुन् ।
आज सङ्क्रमण पुष्टि भएका सबै व्यक्ति समुदायमा गरिएको कन्ट्रयाक्ट ट्रेसिङबाट पहिचान भएका डाक्टर शर्माले बताउनुभयो ।
गण्डकी प्रदेशमा हालसम्म एक हजार ९ सय ७८ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ भने निको हुनेको संख्या एक हजार ६ सय ६५ रहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७, १५:३८