हजुरको रेडियो, रामेछाप ।
रामेछापको सदरमुकाम मन्थलीमा आज बिहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् ।
रेबिज लागेको आशंका गरिएको कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो ।
घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।
यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाई टोक्ने गरेको घटना भएपनि एकैदिन यति धेरैलाई टोकेको यो पहिलो घटना भएको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ ।
मन्थलीमा आज बिहान कुकुरले आतङ्क नै मच्चाएको थियो । मानिसहरू कुकुर देख्ने बित्तिक्कै भाग्न थालेका थिए ।
कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको हो । रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए ।
अहिले पनि नगरपालिका क्षेत्र भित्र २२ वटा पशुलाई रेविज बिरुद्धको खोप दिइरहेको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ ।
आज बिहान मानिसहरूलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने बित्तिक्कै जथाभावी टोक्दै हिडेको एउटा कुकुरलाई भने मारिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७