पूर्णप्रसाद न्यौपाने, भिजन एफएम, ओखलढुंगा
ओखलढुंगाको खिजीकातीका गर्भवतीहरूलाई पोषिलो खानेकुरा र स्वास्थ्य परामर्श दिईएको छ ।
कोरोनाको कहरमा रहेका खिजीदेम्बा गाउँपालिका ४ भित्रका १३ जना गर्भवती महिलालाई पोषिलो खानेकुरासँगै स्वास्थ्य परामर्श दिईएको हो ।
वडा अध्यक्ष कमलप्रसाद न्यौपानेले आफ्नो जन्मदिनको अवसर पारेर मंगलबार व्यक्तिगत खर्चमा गाउँका सबै गर्भवतीलाई पोषिलो खानेकुरा उपलब्ध गराउनु भएको छ ।
हर्लिक्स, चना, मसला, सरसफाईका लागि साबुन सहितका सामाग्री गर्भवतीलाई वितरण गर्दै वडाअध्यक्ष न्यौपानेले जन्मदिन मनाउनु भएको हो ।
पोषिलो खानेकुरासँगै शारीरिक तथा मानसिक रुपमा जटिल अवस्था झेलिरहेका गर्भवतीलाई कोरोनाको संक्रमणबाट बच्न र पेटमा रहेको शिशुको ख्याल गर्न अपनाउनुपर्ने सतर्कताका विषयमा स्वास्थ्यकर्मी मार्फत परामर्श समेत दिईएको वडाअध्यक्ष न्यौपानेले बताउनुभयो ।
‘उहाँहरुमा कोरोनाबाट कसरी बच्ने भन्ने मात्रै समस्या छैन । पेटमा रहेको शिशु कसरी स्वस्थ्य राख्ने र सुरक्षित रुपमा सुत्केरी हुन सकिन्छ कि सकिन्न भन्ने मानसिक तनाव भएको पाईयो ।’ न्यौपानेले भन्नुभयो, ‘केक काट्ने र साथीभाईसँग रमाईलो गर्ने चलन हटाउँदै पोषणको आवश्यकता भएका दिदी बहिनीहरूलाई पोषिलो खानेकुरा दिएर जन्मदिन मनाएँ । मेरो जन्मदिन खिजीकातीका गर्भवतीले जन्माउने शिशुका लागि समेत सार्थक रहोस् भन्ने कामना छ ।’
वडाअध्यक्ष न्यौपाने सहितका वडाका जनप्रतिनिधि र स्वास्थ्यकर्मीले भौतिकदुरी कायम गर्दै गाउँका सबै गर्भवतीलाई भेटेर कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सतर्कता, गर्भावस्थामा देखिने खतराका लक्षणहरू, पोषिलो खानेकुराको महत्व, सरसफाईको आवश्यकता लगायतका विषयमा जानकारी गराएका थिए ।
सधैं आवश्वासन मात्र बोकेर गाउँघर पुग्ने जनप्रतिनिधि यसपटक भने पोषिलो खाने कुरा लिएर आउँदा स्थानीय अनिता खड्का खुशी हुनुभयो ।
आम्दानीको स्रोत टुटेको र बजार जाने अवस्था नभएपछि किनेर खानुपर्ने पोषिलो खानेकुराबाट बञ्चित भएका गाउँका गर्भवतीलाई वडाअध्यक्षले खानेकुरा ल्याईदिँदा निकै खुशी लागेको उहाँले बताउनुभयो ।
‘चुनावको बेला आश्वासन बाँड्दै भोट माग्ने नेताहरू कहिलेकाही विकास लिएर आउँछन्, तर खानेकुरा नै बोकेर आएको पहिलो पटक देखेँ ।’ खड्काले भन्नुभयो, ‘हाम्रो वडा अध्यक्षले सम्झनुभयो । सबैलाई धेरथोर पोषिलो खानेकुरा त दिनुभयो नै स्वास्थ्यको ख्याल गर्ने र समस्या भए स्वास्थ्यकर्मीलाई भन्ने भनेर स्वास्थ्यकर्मी सँगै राखेर भन्नुभयो, समस्या परिहाले के गर्ने भन्ने धेरैलाई थियोे अब अलिक ढुक्क भयो ।’
कोरोना भाइरसका कारण घरमुली र अन्य सदस्य कामविहीन भएर घरमै बस्नुपर्दा पोषिलो खानेकुराबाट बञ्चित हुनुपरेको खिजीकातीका गर्भवतीहरूको भनाइ छ ।
‘अलिक अघिसम्म त केही काम गरेर दुई÷चार हजार रुपैयाँ कमाउँदै थियौँ, यो बेला त केही आम्दानी छैन्, यस्तै अवस्था रह्यो भने दुई छाक टार्न त गाह्रो होला जस्तो छ । कहाँबाट पोषिलो खानेकुरा पाएर खानु ?’ गर्भवती मञ्जु तामाङको प्रश्न थियो ।
तामाङको प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष न्यौपानेले भन्नुभयो, ‘कोरोनाबाट बच्न सरसफाईमा ध्यान दिउँ भनेर सुरुमा साबुन दिएँ । स्वयंसेविका दिदीहरू हिडिरहनुपर्छ भनेर बिमा गराईदिएँ । अहिले तपाईहरु गर्भवतीलाई पोषिलो खानेकुरा खानुपर्छ भन्ने सन्देश दिन यो केही सामान सहयोग गरेँ । यसले धेरैदिन पुग्दैन तर पोषिलो कुरा खानुपर्छ भन्ने सन्देश चाँही सबैमा पुगोस् ।’
पोषिलो खानेकुराको अभावमा जन्मने बच्चा कुपोषित हुने, स्वयंम गर्भवतीको शक्तिमा कमी हुने, सहज र सुरक्षित सुत्केरी नहुने भएकाले सुरक्षित मातृत्व सेवा दिएर मातृशिशु मृत्युदर र कुपोषणको दर शुन्यमा राख्ने वडाको योजना रहेको उहाँले बताउनुभयो ।
वडाअध्यक्षबाट मनिका सुनुवार, सविता खत्री, अजिता दर्जी, सरस्वती भण्डारी, मुना तामाङलगायत १३ जनाले पोषिलो खानेकुरा पाउनुभयो ।
संकटको बेला जनप्रतिनिधि अकास्मत झोला भरी सामान लिएर आएपछि गर्भवतीहरुमा खुशी भएका छन् ।
‘गर्भजाँच गर्न बोलाएको होला हेल्थपोष्टमा भनेको वडाअध्यक्षले झोलामा खानेकुरा बोकेर बाँड्न आउनुभएको रहेछ’ स्थानीय सरस्वती भण्डारीले भन्नुभयो ।
सबैलाई स्वास्थ्य परामर्श आवश्यक भएकाले स्वास्थ्य चौकीमा बोलाएर परामर्श दिईएको थियो ।
वडा अध्यक्ष न्यौपानले कोरोनाको कहर सुरु भएलगत्तै सरसफाईको सन्देश दिन व्यक्तिगत खर्चमा गाउँघरका सबै घरमा साबुन वितरण गर्नुभएको थियो ।
न्यौपानेले कोरोनाको कहरमा काम गर्ने खिजीकातीका सबै महिला स्वास्थ्य स्वयं सेविकाको स्वास्थ्य बिमा समेत निःशुल्क गराईदिनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७