काठमाडौं । सरकारले श्रम स्वीकृति खुला गरेको छ । कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि श्रम स्वीकृति रोकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले रोकिएको श्रम स्वीकृति खुलेको जानकारी दिनुभयो ।
मन्त्री यादवले कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको जानकारी दिनुभयो । श्रम स्वीकृती खुलेपनि आजैदेखि काम सुरु हुने भने देखिएको छैन ।
निषेधआज्ञा जारी रहेको, यातायात नखुलेका कारण श्रम स्वीकृती खुलेपनि काम सुरु हुन केहीसमय लाग्ने वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले सीआईएनलाई बताउनुभयो । उहाँका अनुसार नयाँ श्रम स्वीकृतिका लागि सेवाग्राही काठमाडौँ नै आउनुपर्ने भएकाले तत्काल सम्भव देखिँदैन ।
अनलाइन्बाट सबै काम गर्ने र एकैपटन विमानस्थलमा पुग्नेगरि ब्यवस्था मिलाउने विषयमा छलफल भइरहेको दाहालले बताउनुभयो । उपत्यकामा कोभिड–१९ को जोखिम उच्च रहेकाले यही भदौ ३ देखि निषेधाज्ञा जारी छ ।
उपत्यका बाहिरका कतिपय जिल्लामा पनि कोभिडको जोखिम बढेकाले निषेधाज्ञा जारी छ । पुनः श्रम स्वीकृति प्रदेशमा रहेका श्रम कार्यालयबाट पनि लिन सकिन्छ तर श्रम स्वीकृतिका लागि भने काठमाडौंको ताहाचल कार्यालयमै आउनुपर्ने बाध्यता छ ।
प्रकाशित मिति: बुधबार, भदौ १७, २०७७