बागलुङैं । ढोरपाटन नगरपालिकाको भुजीखोलामा गएराति आएको बाढीपहिरोले चार जनाको मृत्यु भएको छ । १३ जना बेपत्ता भएका छन् । राति करिब १२ बजे भूजीखोलामा आएको बाढीले ढोरपाटन वडा नम्बर ५,६,७,८ र ९ का ३० घर बगाएको छ । पहिरोका कारण आएको बाढिले ढोरपाटन नगरपालिकाको वडा नं.९ र ८ मा जनधनको क्षति पु¥याएको छ ।
एक जनाको शव बुर्तिवाङ पुरानो पावरहाउस नजिकै भेटिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । यस्तै ढोरपाटन घुम्न गएका गलकोटका एकजना युवा बेपत्ता भएको स्थानीयले बताएका छन् ।
बाढीका कारण लाकुरीबोटमा ३ जना, सुकुरदुङमा १ जना दुनेपधेरामा ३ जना, घट्टबोटमा ७ जना, भुसुन्डेमा ३ जना व्यक्ति सम्पर्क विहिन रहेको स्थानीय जीवन पुनले जानकारी दिनुभयो ।
यस्तै बाढीले, लाकुरीबोट ११ घर, दुनेपधेरामा ५ घर, घट्टबोटमा ८ घर भुसुन्डेमा १, घर बगाएको छ, भने सुकुरदुङको सरस्वति आधारभूत विद्यालय, सुप्राङको जनचेतना प्रावि, समेत बगाएको छ । साविक बोबाङमा रहेका ३ वडा जलविद्युत आयोजना र ३ वटा झोलुँगेपुल समेत बगाएको पुनले जानाकारी दिनुभयो ।
घटनाको यकिन विवरण आउन बाँकी रहेको बताइएको छ । उता घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा प्रहरी टोली प्रस्थान गरेको छ ।
उनीहरुको उद्दारका लागि घटना स्थलतर्फ ४० जना सुरक्षाकर्मी खटाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले बताउनु भएको छ । घटना स्थलतर्फ नेपाल प्रहरी र नेपाली सेना त्यस ठाउँमा गएको प्रमुख जिल्ला अधिकारी न्यौपानले बताउनुभयो । बुर्तिबाङमा रहेको प्रहरी, ढोरपाटनमा रहेको नेपाली सेना र घोडाबाँधेमा रहेको नेपाली सेनाको एक समुह उद्दारको लागि गएको उहाँको भनाइ छ ।
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७