महेश कार्की, रेडियो बुढीनन्दा, कोल्टी/बाजुरा
कोराना रोकथाम तथा नियन्त्रण गर्न भन्दै गरिएको लकडाउनले बाजुराका हलिया समुदायमा खाद्यान्न अभाव भएको छ ।
एकातिर कामै नपाउने अर्कोतिर महङ्गी । बुढीनन्दा नगरपालिका वडा नम्बर एकका एकसय २४ परिवारलार्ई छाक टार्न धौ धौ भएको छ ।
बाजुरामा लकडाउन भएपछि ज्याला मजदुरीको काम नपाइएको र यसले गर्दा बिहान बेलुकाको छाक टार्न समस्या भएको हलिया समुदायका व्यक्तिहरू बताउँछन् ।
स्थानीय अमृता सार्कीले रुँदै भन्नुभयो, ‘खेताला लाग्दा खाना थियो तर अहिले खाने चारो छैन । नुन किन्यो तेल छैन, तेल किन्यो नुन छैन । हामीले कसरी पालिने ?’
कोरोना भाइरसको त्रासले चैत यता कार्यालयहरू राम्रोसँग सञ्चालन भएका छैनन् ।
विकास निर्माणका काम पनि प्रभावित भएका छन् भने पसल नखुल्दा दैनिक ज्याला मजदुरी गरेर खाने परिवार समस्यामा परेका छन् ।
बुढीनन्दा नगरपालिका वडा नम्बर एकका सरि ल्वारले भन्नुभयो, ‘हाम्रो घरमा खाने चारो छैन, केही छैन । श्रीमान् बाहिर जानुहुन्थ्यो कमाएर ल्याउनुहुन्थ्यो, त्यही खान्थ्यौं । त्यो पनि अहिले छैन । काम गरेर खान्थ्यौं, यो लकडाउनले काम पनि छैन । ’
साहुको काम गरेर दैनिक गुजारा चलाइरहेका हलिया परिवारलाई कोभिड १९ ले प्रभाव पारेको छ । काम पनि पाइएको छैन, त्यसमाथी महङ्गीले झन् समस्या थपिएको स्थानीय हिक्मत वड बताउनुहुन्छ ।
वडले भन्नुभयो, ‘अर्काको हलो बाहेर खाने हलिया हौं । राहतको नाममा एक एक कट्टा चामल पाए, १३ जना घरपरिवार । निम्न हलियावस्तीलाई छुटाइएको छ राहतमा पनि नगरपालिका, संघसंस्थाबाट । कहीकतैबाट मजदूरी गरेर, सापट/पैंचो मागेर ल्याइएको ऋणबाट पनि बजार जाँदा चामल किन्न पाइएको छैन । पाइहालेमा पनि ४० केजीको ४ हजार / ४५ सय हातमा दिंदा पनि व्यापारिले दिएको छैन ।’
वडा नम्बर १ मा बसोबास गर्ने एकसय २४ परिवार सहजै काम पाउने दिनको प्रतिक्षामा छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७, ०७:५२