काठमाडौँ । २१ दिनसम्मको कडा प्रकारको निषेधाज्ञापछि काठमाडौं उपत्यकामा आजदेखि पसल र सवारीसाधन सञ्चालन भएका छन् ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारीसाधन सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् । निजी सवारी साधन सबै र १६ सिटभन्दा बढी क्षमता भएका सार्वजनिक सवारीसाधन आजबाट जोरविजोर प्रणालीमा सञ्चालन भएका छन् ।
ट्याक्सीको हकमा भने चालकसहित ३ जना मात्र बस्न पाइनेछ । सार्वजनिक सवारी साधनमा एक लहरमा एक जना गरी कुल सिट सङ्ख्याको आधामा मात्र बस्न पाइने आदेशमा भनिएको छ । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।
पसल सञ्चालनका लागि व्यवसायको किसिमको आधारमा निश्चित बार मात्र खोल्न पाइने व्यवस्था गरिएको छ । परिस्थितिको आँकलन गरेर निषेधाज्ञालाई खुकुलो बनाउने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि त्यसलाई थप फैलिनबाट रोक्न भन्दै प्रमुख जिल्ला अधिकारीहरुले नागरिकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाएका थिए ।
निशेधाज्ञा खुकुलो बनाउने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको आदेशः



प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७