काठमाडौँ । नेपालको तराई क्षेत्रमा मैथिल र थारु समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज विशेष उल्लासका साथ मनाईँदैछ ।
यो पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी तिथिमा तीन दिनसम्म हर्षोल्लासका साथ मनाइन्छ । विगतमा नाच्दै गाउँदै तामझामका साथ मनाइने यो पर्वमा यस वर्ष नोबेल कोरोना भाइरसको महामारीका कारण खासै उल्लास छैन ।
आज जितियाको दोस्रो दिन महिलाहरु बिहानैदेखि निराहार ब्रत बसेका छन् । बिहानै नुहाई धुवाई गरी बेलको पात टिपेर दिनभर निराहार ब्रत बस्ने, बेलुकीपख फेरि खोलामा गई पिनाले नुहाई पातमा पिना बगाउने र साँझ जितिया पर्वको कथा श्रवण गरेर मात्र खाने चलन छ ।
भोलिपल्ट अर्थात् नवमीको दिन सबेरै सबै ब्रतालु खोलामा नुहाएर निराकार प्रतिमूर्ति बनाएर मासको गेडाले पूजा गर्छन् । खोलाबाट घर आइसकेपछि ब्रतालुले दहि चिउरा, केरालगायत खानेकुरा खान्छन् । त्यसपछि भने ब्रत सकिएसँगै जितिया पर्व सकिन्छ ।
अविवाहितले राम्रो वर पाउन र विवाहितले आफ्नो श्रीमान् र सन्तानको दीर्घायुको कामना गर्दै जितियाको ब्रत बस्ने गर्छन् ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्नुभएको छ ।
जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वािस‚ सद्भायव र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सद्भाीव‚सहिष्णुता‚समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार पनि व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पनि तराईका थारु तथा मैथिली महिलाले मनाउने जितिया पर्वको अवसरमा देश विदेशमा रहनुहुने समस्त नेपाली दिदीवहिनी तथा दाजुभाइको सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “आफ्नो परिवारका सदस्यहरुको सुस्वास्थ्य एवम् दीर्घायुको कामना गर्दै महिलाले व्रत बसी मनाइने यस पर्वले परस्परमा सदभाव र प्रेमको सन्देश प्रवाह गर्दछ ।”
आश्वीन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइने यस पर्वको समाप्तिकाे दिनलाई ‘लाहा खाइके’, अष्टमीलाई ‘उपास’ र नवमी दिनलाई ‘पारन’ भन्ने गरिन्छ, प्रधानमन्त्री ओलीले सन्देशमा चर्चा गर्नुभएको छ । सप्तमीको विहान व्रतालुले नदीमा गई तोरीको पिनाले नुहाए पछि केही पिनालाई घिरौलाको पातमा राखी खोलामा बगाउने चलन छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र वहुसांस्कृतिक विविधताकाबीचमा सुदृढ एकता भएको देश हो । यहाँ प्रचलित पर्वहरुका विविधता हाम्रा बहुमुल्य पुँजी हुन् ।” सहिष्णुता र दृढ एकतासहितको विविधतायुक्त यस पूँजीलाई हामीले देश निर्माणमा सदुपयोग गर्नुपर्ने उहाँले चर्चा गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७