काठमाडौँ । निषेधाज्ञा खुकुलो बनाउने सरकारले निर्णय गरे पनि, काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमित थपिने क्रम घटेको छैन । उपत्यकामा हिजो बुधबार मात्रै थप ४६४ जनामा नोबेल कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै काठमाडौंमा सङ्क्रमितको सङ्ख्या ७ हजार ६११ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८१ जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा उनीहरूमा सङ्क्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ४९ हजार २१९ पुगेको छ । ३३ हजार ८ सय ८२ सङ्क्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । कोरोनाका कारण हालसम्म ३१२ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७, १३:२८