काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सबैको उपचार, शिक्षा र जीविकाको प्रवन्ध सरकारले गर्ने घोषणा गर्नु भएको छ ।
एसिड आक्रमणबाट पीडितहरुसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरुसमेतको उपस्थितिमा आज बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनको निर्देशनसमेत दिनुभयो ।
घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाइ खर्च तथा व्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्रीले घोषणा गर्नु भएको थियो ।
गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङ्फे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिवसमेतको उपस्थितिमा भएको उक्त अन्तक्र्रियामा सम्बन्धित मन्त्रालय र निकायहरुलाई आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीले निर्देशनसमेत दिनु भएको थियो ।
प्रधानमन्त्रीको घोषणा अनुसार एसिड आक्रमणबाट पीडितहरूको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने छ ।
प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रबन्ध गर्ने वताउनुभयो । अपराधीबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरूलाई जेल सजाय गराउने उपयुक्त प्रबन्धको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो ।
राज्यका अपराध अनुसन्धान, स्वास्थ्य, शिक्षा, रोजगारी सम्बन्धी निकायका प्रमुखहरूलाई समेत राखेर निर्देशन दिएपछि यससम्बन्धी थप ब्यवस्था मन्त्रिपरिषद्को आगामी बैठकले गर्ने प्रधानमन्त्री ओलीले वताउनुभयो ।
उहाँले भदौ २५ लाई एसिड आक्रमण बिरुद्धको जागरण दिवसका रुपमा मनाउने र सम्भव रहेसम्म सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत वताउनुभयो ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७, १६:४८