काठमाडौँ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालका संस्थापक अध्यक्ष रघु मैनालीले सामुदायिक रेडियोहरूको भावना र इमान्दारितामा शङ्का गर्न नहुने बताउनु भएको छ ।
अकोराबको १८ औँ स्थापना दिवसका अवसरमा काठमाडौँमा आयोजित अन्तरक्रियामा मैनालीले सामुदायिक रेडियोहरूले सिक्दै काम गर्दै आएको टिप्पणी गर्नुभयो ।
विगतमा थोरैबाट सुरु गरेको सामुदायिक रेडियोको जमात ठूलो भएको उल्लेख गर्दै स्थापना दिवसमा विगतलाई सम्झने, वर्तमानको समीक्षा गर्ने र भविष्यको लागि योजना निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।
सामुदायिक रेडियोलाई कानुनी रूपमा व्यवस्थापन गर्न बाँकी भए पनि रेडियोको अभियान वैध भइसकेको उहाँको भनाइ छ । ‘पाँच वर्षका लागि स्थायी सरकार बनेको बेलामा सञ्चार बुझेको मन्त्री भएकाले बेलैमा सामुदायिक रेडियोका लागि विशेष काम हुने विश्वास लिएको छु ।’ मैनालीले भन्नुभयो ।
'सामुदायिक रेडियो प्रतिको जनताको सहभागिता र स्वीकार्यता कम नहोस् भन्नका लागि पनि सरकारले आवश्यक ऐन्, कानुन बनाउनेतर्फ समयमा नै ध्यान देवस् ।'
हिजोआज भट्टी उद्योगको भन्दा धेरै कर सामुदायिक रेडियोले तिर्नुपरेको उल्लेख गर्दै उहाँले समयमा ऐन्, कानुन नबन्दा विकृति पनि बढ्दै गएको बताउनुभयो ।
‘कुना कुनाका जनताका आवाज पनि सुन्ने वातावरण बनाउन सुरु गरेको सामुदायिक रेडियो अभियानमा केही अभाव सिर्जना भएको पाइन्छ । हामी कता कता उत्प्रेरणा, आर्थिक सङ्कट पनि व्यहोर्दै आइएको छ ।’
अभावका कारणले जनाताका भन्दा पनि व्यापारीका कुरा दिनुपर्ने बाध्यता सामुदायिक रेडियो सामु आउन थालेको उहाँको भनाइ छ ।
सामुदायिक रेडियोप्रतिको जनताको सहभागिता र स्वीकार्यता कम नहोस् भन्नका लागि पनि सरकारले आवश्यक ऐन्, कानुन बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५, १०:२५