सिन्धुपाल्चोक ।
अविरल वर्षाका कारण गएराति बाह्रबिसे नगरपालिका वडा ७ घुम्थाङ नागपुजेस्थित फड्के खेतमा पहिरो जाँदा नागपुजे, भीरखर्क गाउँ बगाएको छ ।
एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भीरखर्कमा १० घर बगाएको हो भने तीन घरमा क्षती पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाका अनुसार पहिरोमा २ जना महिलाको शव भेटिएको छ ।
६२ वर्षका पञ्चमाया तामाङ र जुनु श्रेष्ठको शव भेटिएको छ । अहिले १७ जना त्यहाँ बेपत्ता छन् । नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए । ती घरमा मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ ।
प्रहरीका अनुसार नागपुजेमा ७ घरमा १७ जनाको बेपत्ताको सूची निकालिसकिएको छ । स्थानीय, आफन्त र सुरक्षाकर्मी बेपत्ताको खोजीमा जुटिसकेका छन् । भिरखर्कमा भने १० घर पुरिएको खबर आएपनि एकिन हुन सकेको छैन् ।
ठाउँ ठाउँमा पहिरोले बाटो अवरुद्ध गरेको हुनाले उद्धारमा हिडेकाहरू पुग्न कठिनाई भएको छ ।
उता सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङ देउरालिका ३० घर पनि पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिदेखि परेको अविरल बर्षाका कारण पहिरो चल्दा केहि स्थानीयको घर भित्र पहिरोको लेदो पसेको छ ।
घर नै बगाउन सक्ने गरी बस्तीको आसपास पहिरो चलेपछि सेलाङ देउरालिका स्थानीयले घर छाडेका स्थानीय सन्देश परीयारले बताउनुभयो ।
यस्तै, जुगल गाउँपालिकाको चनौटेमा ५ घर पहिरोमा परेको छ । २ घर पूर्ण रुपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ ।
मानिसहरू भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७, ०८:५३