काठमाडौं । पहिरोको जिल्ला सिन्धुपाल्चोकमा फेरि अर्को पहिरो गएर ठूलो मानवीय क्षति भएको छ । सिन्धुपाल्चोक बाह्रबिसे– ७ घुम्थाङमा पहिरो जाँदा दुईवटा गाउँ नै पुरिएका छन् ।
पहिरोमा पुरिएर कम्तिमा ९ जनाको मृत्यु भएको छ । २३ जना अझै पनि वेपत्ता छन् । नौजनाको शव फेला परिसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई उदृत गर्दै रेडियो सिन्धुले जानकारी दिएको छ ।
बिहानै देखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवाहरू उद्धार कार्यमा खटिएका छन् । सभामुख अग्निप्रसाद सापकोटा पनि बिहानै पहिरोस्ल पुग्नु भएको छ ।
उता सिन्धुपाल्चोकको जुगल गाउँपालिका १ सेलाङ देउरालिका ३० घर पनि पहिरोको उच्च जोखिममा परेका छन् । गएरातिदेखि परेको अविरल बर्षाका कारण पहिरो चल्दा केहि स्थानीयको घर भित्र पहिरोको लेदो पसेको छ ।
घर नै बगाउन सक्ने गरी बस्तीको आसपास पहिरो चलेपछि सेलाङ देउरालिका स्थानीयले घर छाडेका स्थानीय सन्देश परीयारले बताउनुभयो ।
यस्तै, जुगल गाउँपालिकाको चनौटेमा ५ घर पहिरोमा परेको छ । २ घर पूर्ण रुपमा पुरिएको छ भने तीन घरमा क्षति पुगेको छ ।
मानिसहरू भने भागेर ज्यान जोगाउन सफल भएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७, १६:५४