काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा पीसीआर जाँच गर्ने सामग्रीको मूल्य घटेको भन्दै सरकारले नोबेल कोरोना भाइरसको सङ्क्रमण परीक्षणको शुल्क घटाएको छ ।
रिएजेन्ट र अन्य सामानको मूल्य घटेकाले नयाँ मूल्य निर्धारण गरिएको र यो मूल्य निजी र सरकारी ल्याबमा लागु हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोभिड १९ को नियमित जानकारी दिनेक्रममा बताउनुभयो ।
सुरुमा पीसीआर जाँचको शुल्क ५ हजार ५ सय तोकिएको थियो । त्यसलाई पछिल्लो समयमा ४ हजार रुपैयाँमा झारिएको थियो ।
यसैबीच पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा नोबेल कोरोना भाइरस (कोभिड१९) को सङ्क्रमण देखिएको छ ।
देशभरको प्रयोगशालामा ९ हजार १ सय ६५ नमुना परीक्षण गर्दा ३ सय ६५ महिला र ६ सय ७४ पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा ५ सय ९७ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ४ सय ८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जनामा सङ्क्रमण देखिएको हो ।
बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाइएमा एम्बुलेन्सको दर्ता खारेज गर्ने चेतावनी पनि सरकारले दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी एम्बुलेन्स बिरामी बोक्नेबाहेक अन्य काममा प्रयोग भएको पाएमा तुरुन्त दर्ता खारेज गर्ने बताएको हो ।
प्रकाशित मिति: सोमबार, भदौ २९, २०७७, ०८:०९