धनकुटा ।
कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गरिएको लकडाउन लम्बिदै जाँदा धनकुटाका किसानले उत्पादित तरकारी तथा खाद्य बस्तु बिक्रि गर्न पाएका छैनन् ।
तरकारी उत्पादक, दूग्ध उत्पादक, व्यवसायीक पशुपालनमा लागेका किसान आफूले उत्पादन गरेको बस्तु समयमा विक्रि नभएको भन्दै गुनासो गरेका हुन् ।
कोरोना भाईरसको सङ्क्रमण रोकथामको लागि धनकुटामा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण किसानले आफ्नो उत्पादन बेच्न नपाएका हुन् ।
उत्पादित तरकारी, फलफूल, दूग्धजन्य सामग्री बिक्रि गर्न नसक्दा खेर जाने अवस्था आएको किसानको भनाइ छ ।
लकडाउनभन्दा अघि उत्पादित वस्तु सजिलै विक्रि हुने गरेकोमा लकडाउनपछि उत्पादनको आधा बजार ल्याउँदा पनि बेच्न नसकेको किसानहरू बताउँछन् ।
उत्पादित खाद्य सामग्री बिक्रि नहुँदा किसानहरू समस्यामा परेका छन् । लकडाउनका कारण मारमा परेका किसानलाई सरकारले थोरै भएपनि राहत दिनुपर्ने उनीहरूको माग छ ।
उत्पादन गरेको बस्तु समयमा विक्रि नहुने, विक्रि भएपनि समयमा भुक्तानी नापाईने र आवश्यक सामग्री सहज रुपमा उपलब्ध नहुदा समस्या भोग्नुपरेको धनकुटा नगरपालिका वडा नं २ का किसान चन्द्रलाल तामाङ्ग बताउनुहुन्छ ।
धनकुटामा उत्पादन भएका तरकारी, दूग्धजन्य उत्पादन लगायतका सामाग्री पूर्वका मुख्य बजार तथा भारतमा समेत निकासी हुने गरेको छ ।
लकडाउनसँगै गरिएको निषेधाज्ञाले सहज रुपमा सवारी साधन, बजार तथा पसल नखुल्दा किसानले ठूलो घाटा बेर्होनु परेको छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७, ०७:५३