काठमाडौँ । सरकारले सहुलियतपूर्ण कर्जा दिने निर्णय गरे पनि अधिकांश बैँकले कार्यान्वयन गर्न आलटाल गर्ने गरेको पाइएको छ । राष्टिय युवा परिषद्ले आज भक्तपुरमा आयोजना गरेको अन्तरक्रियामा सहभागी युवा उधमीहरूले कर्जा लिनका लागि बैँकमा पुगे पनि नपाएको अनुभव सुनाए ।
कागजात नपुगेको, प्रक्रिया नमिलेको, माथिल्लो तहबाट आदेश नआएको भन्दै बैँकहरूले सहुलियत ऋण दिन अस्वीकार गर्ने गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले भने आफूले देशभर रहेका २ सय १७ बैँकका शाखालाई सरकारको सहुलियत कर्जा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिएको दावी गर्नुभयो ।
एनएमबी बैँकका अध्यक्ष पवन गोन्यालले किसानसँग सीप, सिँचाई र बजार नभएका कारण समस्या भएको बताउनुभयो ।
सहुलियत कर्जा कार्यान्वयनका लागि आफूहरू हदैसम्मको लचक भएको उल्लेख गर्दै अध्यक्ष गोन्यालले युवाहरूलाई सीपमूलक तालिम सञ्चालनका लागि युवा परिषद्सँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो ।
एनएमबी बैँकका प्रमुख व्यापार अधिकृत गोबिन्द घिमिरले प्रक्रिया पुर्याएर आउने जोकोहीलाई पनि सरकारले तोेकेको सातै प्रकारको सहुलियत कर्जा दिने बताउनुभयो ।
रष्ट्रिय वाणिज्य बैँक र एनएमबी बैँकले सहुलियत कर्जा दिन सुरु गरेको भन्दै राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले आवश्यक कागजात र प्रक्रिया पुर्याएर सम्बन्धित बैँकमा सम्पर्क गर्न आग्रह गर्नुभयो ।
अन्तरक्रियामा १ सय ५० जनाभन्दा धेरै युवाहरूको सहभागिता थियो ।
कार्यक्रममा रिटर्नी माइग्रेन्ट नेपाल आवद्ध युवाहरु, युवा प्रतिभा तथा उद्यमीहरु, युवा संसदका सदस्यहरु, युवा वैज्ञानिकहरु, राजनैतिक दल सम्बद्ध युवा संगठनका अध्यक्ष तथा प्रतिनिधिहरु, नेपाल होमस्टे एशोशियसन आवद्ध युवा उद्यमीहरु तथा युवाका क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
सहजकर्ताका रुपमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष ढुङ्गेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठ, एनएमबी बैंकका अध्यक्ष गोण्याल, नेफ्सकूनका वरिष्ट उपाध्यक्ष परितोष पौडेल रहनुभएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १२, २०७५, २०:२८