दाङ ।
लकडाउनका कारण लामो समयदेखि होटलहरू बन्द हुँदा व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।
करौडौं लगानी गरेर व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई बैंकको ब्याज र घर भाडा तिर्ने चिन्ता छ भने कम लगानीबाट व्यवसाय गरेकाहरू साँझ विहानको छाक टार्नै समस्या भएको बताइरहेका छन् ।
होटल बन्द हुँदा त्यहाँ कार्यरत २९ सय बढी कर्मचारी समेत बेरोजगार बनेका छन् । दाङमा ६ महिनादेखि होटल व्यवसाय बन्द छ ।
व्यवसाय बन्द गरेर महिनौं बस्नुपर्दा घर मालिकलाई होटलको साँचो बुझाएर व्यवसाय समेत छाड्नुपर्ने अवस्थामा पुगेको बताउनुहुन्छ, घोराहीमा रहेको होटल थ्रि स्टारका सञ्चालक अजय पोख्रेल ।
मासिक एकलाख ५० हजार भाडा तिर्दै आएकोमा हाल भाडा समेत तिर्न नसक्ने अवस्था रहेको पोख्रेलको भनाइ छ ।
पोख्रेलले भन्नुभयो, ‘भाडा पनि साह्रै महङ्गो छ, व्यापार छैन । सरकारले केही राहत दिएर गरिदिन सके हो । अब जहिलेसम्म सक्छौं हेरौं, नसके साहुलाई बुझाउने हो, हिँड्ने हो ।’
अन्य व्यवसायको तुलनामा होटल व्यवसायी बढी मारमा परेका सञ्चालकहरू बताउँछन् ।
दाङमा साना ठुला गरेर १३ सय बढी होटल व्यवसाय सञ्चालनमा छन् । त्यहाँ काम गर्र्दै आएका २९ सय बढी कर्मचारी अहिले बेरोजगार बनेका छन् ।
हालसम्म जिल्लामा संघमा जानकारी गराएरै २५ जना भन्दाबढि व्यवसायिले व्यवसाय नै छोडेर गएका छन् भने जानकारी नगराएर पनि धेरै व्यवसायीले व्यवसाय छोडेका दाङ देउखुरी होटल व्यवसायी संघका अध्यक्ष रुद्र बहादुर डाँगीले बताउनुभयो ।
डाँगीले भन्नुभयो, ‘दाङमा होटल व्यवसायको अवस्था दयनिय नै छ हेर्नुस्, २०/२५ जना त विस्थापित नै भइसके ।’
अब कुन बाटो समाउने भनेर होटल व्यवसायीहरू यतिबेला विकल्पको खोजीमा छन् ।
महिनौं बन्दका कारण घाटामा गएका व्यवसायी र रोजगारी गुमाएका कामदारका लागि सरकारले केही योजना नल्याउँदा उनीहरू थप चिन्तामा परेका छन् ।
व्यवसायबाटै साँझ बिहानको छाक टार्दै आएकाहरूलाई झन समस्या थपिएको छ ।
होटल व्यवसायी महासंघ प्रदेश नम्बर पाँचका कोषाध्यक्ष तथा दाङ देउखुरी होटल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र पुन मगर सरकारले व्यवसायीका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुहुन्छ ।
मगरले भन्नुभयो, ‘नेपाल सरकारसँग हामीले के आग्रह गरेका हौं भने व्यवसायीहरूका लागि कमसेकम सरकारले केही न केही एउटा प्याकेज ल्याउनुपर्छ । घरभाडा छुटको बारेमा भयो, ऋणको ब्याज छुटको बारेमा केही गर्नुपर्छ भनेर हामीले महासंघ मार्फत् पनि नेपाल सरकारलाई हामीले ज्ञापनपत्र बुझाएको हो । तर त्यसको सुनुवाई भएन ।’
सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आजबाट सार्वजनिक यातायात सँगै होटल तथा रेस्टुरेन्टहरू पनि खोल्ने निर्णय गरेको छ ।
तर व्यवसायीलाई पुरानै अवस्थामा फर्कन भने अझै कति महिना पर्खनुपर्ने हो यसै भन्न सकिने अवस्था छैन ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७, ११:३७