दाङ।
दाङको गढवामा किसानहरूले रेशम खेतीलाई व्यवसायीक रुपमा अघि बढाएका छन् ।
नेपालमा भन्दा पनि अन्तराष्ट्रिय बजारमा रेशम किराले बनाएको धागोको मूल्य उच्च रहेकाले देउखुरी गढवाका किसान यसप्रति आकर्षित भएका हुन् ।
देउखुरी क्षेत्र हावापानीका हिसाबले पनि राम्रो भएका कारण युवाहरू रेशमको व्यवसायीक खेतीमा लागेका हुन् । गढवा गाउँपालिका वडा नम्बर ४ का २५ बढि किसानले रेशम खेती गर्दै आएका छन् ।
कृषि विषय पढेका युवाहरू पनि रेशम खेतीमा लागेका छन् । कृषि पढ्दै गर्नुभएका विद्यार्थी तथा किसान पुष्पा पौडेल कृषि नै पढेको भएर कृषि कर्ममा लाग्न प्रोत्साहन मिलेको बताउनुहुन्छ ।
सुरुमा ५ कठ्ठा जग्गामा ३० हजार रुपैयाँको किम्बुको विरुवा लगाएर सामुहिक रुपमा व्यवसाय सुरु गरेका किसानले पहिलो बर्ष खडेरीका कारण घाटा बेहोर्नु प¥यो ।
अरू समस्या आउँदा पनि बिचलित नभइ काम गरिरहेको बताउनुहुन्छ, अर्का किसान धनीराम पौडेल । रेशम उत्पादन राम्रो भए एक बिगाह जमिनबाट बर्षमा ४ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।
किसान अन्जीत चौधरीका अनुसार काभ्रेपलाञ्चोक र काठमाडौंबाट रेशम किराका अण्डा ल्याएर किसानहरूले खेती गरेका हुन् । किसानहरूले समुहमा मिलेर करिब ४० बिगाहा जग्गामा रेशम खेती गरेका छन् ।
गढवा गाउँपालिकाले पनि कोरोना महामारीका कारण विदेशबाट आएका र गाउँमै रहेका बेरोजगार युवालाई रेशम खेतीमा लाग्न प्रोत्साहन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष सहजराम यादव कोभिड १९ का कारणले युवाहरूलाई रोजगारी दिनका लागि गाउँपालिकाले योजना बनाएको छ ।
विदेशबाट आएका एकसय जना र अरू एकसय जनालाई छनौट गरी जम्मा दुईसय जनालाई २० हजारका दरले गाउँपालिकाले अनुदान दिएको उहाँले बताउनुभयो ।
रेशम किराले बनाएको धागोबाट बनेका कपडा महङ्गोमा बिक्री हुने गरेको र विदेशमा पनि रेशमको धागोको माग उच्च रहेकाले किसानहरू यसतर्फ आकर्षित भएका छन् ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: शनिबार, असोज ३, २०७७, १३:१५