सोलुखुम्बु ।
निरन्तरको वर्षाका कारण किबी फल झर्न थालेपछि सोलुखुम्बुका किसान चिन्तित बनेका छन् । भर्खर हुर्कदै गर्दा डाँठ कुहिएर फल झर्न थालेपछि उत्पादन घट्ने भन्दै किसानहरू चिन्तित भएका हुन् ।
सोलुखुम्बुमा अहिले एकसय १५ हेक्टर जमिनमा व्यवसायिक रुपमा किबी खेती भइरहेको छ । जिल्लामा बार्षिक ६५ मेट्रिक टन किबी उत्पादन हुने कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर ७ का जाङबु शेर्पाले ३० रोपनी क्षेत्रफलमा किबी खेती गदै आउनुभएको छ । तर अत्यधिक बर्षाका कारण फल झर्न थालेको छ, बोट समेत मर्न थालेको उहाँले बताउनुभयो ।
सोलुखुम्बुमा किबी खेतीको सम्भावना राम्रो भएकाले यसतर्फ किसानको आर्कषण बढेको छ । किबी फलको बजार पनि राम्रो छ । तर अहिले फल झर्ने समस्याले बजारै पु¥याउन नपाउने हो कि भन्ने चिन्ता किसानलाई छ ।
अहिले नै ५० प्रतिशत भन्दा धेरै फल झरेको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर २ का कृषक उत्तम बस्नेत बताउनुहुन्छ ।
जिल्लामा उत्पादन भएको ४० मेट्रिक टन किबी जिल्ला बाहिर जाने गरेको तथ्याङक छ । एक किलोको ४ सयदेखि ८ सय रुपैयाँसम्म बिक्री हुने कृषकहरू बताउँछन् ।
एक पटक लगाएको बिरुवाले २० बर्षसम्म उत्पादन दिने भएकाले धेरै उत्पादन लिन सकिने आशामा किसान थिए । तर यस बर्ष फल झर्ने समस्याले किसानलाई निराश बनाएको अर्का किसान जगतबहादुर राईले बताउनुभयो ।
अहिले जिल्लामा ग्रिन, रेड, बुर्बर, हिवा लगायत जातका किबी उत्पादन भइरहेको छ । किबी खेतीका लागि पानी जम्ने जग्गा उपयुक्त मानिंदैन ।
आवश्यक भिटामिनको समेत अभाव हुँदा फल झरेको हुनसक्ने पूर्व बागबानी विकास अधिकृत तथा किबि बिज्ञ चन्द्रमान श्रेष्ठले बताउनुभयो ।
सम्म ठाउँ भए नाली खन्ने, पानी बगेर जाने बनाइदिन, भिटामिनहरू नभए हाल्ने गर्न उहाँले किसानलाई सुझाव दिनुभयो ।
किसानको यो समस्याका समाधानको विषयमा कृषि ज्ञान केन्द्रले स्थानीय तहको कृषि शाखासँग समन्वय गरिरहेको केन्द्रका निमित्त प्रमुख कुलबहादुर राईको भनाइ छ ।
किबीलाई ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाएर खान सकिन्छ ।
माटोको ढिस्का उठाइ विरुवा रोप्ने व्यवस्था मिलाउने, रोप्दा वा गोडमेल गर्दा जरा तथा डाँठमा चोटपटक लाग्नबाट बचाउने, फेदमा घाउ देखिए मेन्कोजेबको पेष्ट बनाई लगाइदिन विज्ञको सुझाव छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: सोमबार, असोज ५, २०७७, १७:४९