दाङ ।
मिहेनत गरे आफ्नै ठाउँमा सजिलै आम्दानी गर्न सकिन्छ । सफलताको स्वाद चाख्न भौंतारिंदै परदेशीनु पर्दैन भन्ने उदाहरण बनेका छन्, दाङका एकजना युवा ।
दाङको घोराही उपमहानगरपालिका, ७ राजपुरका टोप बहादुर बुढाथोकीले व्यवसायिक रुपमा बङ्गुर पालन गर्दै आउनुभएको छ ।
बबई बहुउद्देशीय कृषि तथा पशुपंक्षी पालन फार्म स्थापना गरी बङ्गुर पाल्न थालेपछि आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ ।
बुढाथोकीले भन्नुभयो, ‘आनन्द भएको छ । क्षेत्रीको छोराले किन यो काम सुरु ग¥यो भन्ने प्रश्नहरू पनि आए । तर म काम गर्छु भन्ने भयो भने जातभात, लिङ्ग भेद केहीले पनि रोक्दैन रहेछ ।’
उहाँले असार महिनामा मात्रै बङ्गुरको पाठा र मासु विक्री गरेर तीन लाख बढी आम्दानी गर्न सफल हुनुभएको छ ।
समाजशास्त्रमा स्नातक गर्नुभएका बुढाथोकीको दैनिकी बङ्गुरको रेखदेखमा बितिरहेको छ । बिहान उठेदेखि बङ्गुरको स्याहारबाटै दिनको सुरुवात हुने उहाँ बताउनुहुन्छ ।
खोर सरसफाइ, दाना पकाउने र खुवाउने लगायतका काममै आफ्नो समय बित्ने उहाँले बताउनुभयो ।
३८ वर्षका बुढाथोकीले २ वर्षअघि ८ लाख रपैयाँ लगानी गरेर २७ वटा बङ्गुरबाट व्यवसाय सुरु गर्नुभएको थियो ।
अहिले फार्ममा लगानी १३ लाख रुपैयाँ पुगेको छ । इच्छाशक्ती र मिहेनत भए सफलताका लागि विदेशिनु नपर्ने र अरुसँग काम माग्नु नपर्ने बुढाथोकीको भनाइ छ ।
अडियो सुन्नुहोस् :
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७, ०८:०३