काठमाडौँ । देशभरिका सामुदायिक रेडियोकर्मीका लागि नोबेल कोरोना भाइरस (कोभिड १९) र मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यसम्बन्धी तालिम सुरु भएको छ ।
यूनिसेफ नेपाल, कान्ति बाल अस्पताल, सामुदायिक रेडियो प्रसारक संघ, सीआईएन र टीपीओ नेपालको सहकार्यमा सुरु भएको भर्चुअल तालिम १३ वटा समूहमा विभाजन गरेर गरिएको छ । एक समुहलाई एक दिन गरेर १३ दिनसम्म तालिम सञ्चालन हुनेछ ।
तालिमको सुरुवात गर्दै कान्ति बाल अस्पतालका बाल मनोचिकित्सक अरुण कुँवरले रेडियोकर्मीले मानसिक तथा मनोवैज्ञानिक स्वास्थ्यको बारेमा आम स्रोतालाई सही सूचना तथा जानकारी दिएर भूमिका खेल्न सक्ने बताउनुभयो ।
यूनिसेफका विकासका लागि सञ्चार शाखाका प्रमुख सञ्जु भट्टराईले देशभरिका रेडियोकर्मीहरूलाई प्रशिक्षण दिए पश्चात निरन्तर सहकार्य गरेर एउटै सञ्जालमा जोडिरहने बताउनुभयो ।
उहाँले तालिमपछि फेलोसिप र पुनर्ताजकी तालिम आवश्यकता र माग अनुसार सञ्चालन गर्न सकिने बताउनुभयो । सीआईएनका प्रवन्धक एवं तालिम संयोजक दीपक आचार्यले देशभरिका एक रेडियो पनि तालिममा सहभागि हुनबाट नछुटोस भनेर खुल्ला आवेदन आह्वान गरेको बताउनुभयो ।
अझैँ पनि कोही छुटेको भए आवेदन दिन पाउने आचार्यले जानकारी दिनुभयो । सामुदायिक रेडियोमा पनि काम गरी अन्य सञ्चारमाध्यममा पनि जिल्ला संवाददाताको रूपमा काम गर्ने सञ्चारकर्मीहरु तालिममा सहभागी भएकाले तालिमले मानसिक स्वास्थसम्बन्धी रिपोर्टीङमा सुधार आउने बिश्वास व्यक्त गरिएको छ ।
बढ्दो आत्महत्यालाई निरुत्साहित गर्नको लागि र परामर्शमा जानको लागि आम स्रोतालाई प्रोत्साहन गर्ने सामग्री सञ्चारमाध्यमको प्राथमिकता पार्ने तालिमको उद्देश्य रहेको छ ।
ख्यातिप्राप्त चिकित्सकहरू, युनिसेफ र सीआईएनका प्रशिक्षकहरूले प्रशिक्षण दिने भएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७, १५:१७