काठमाडौँ । सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराव) ले भर्तसना गरेको छ ।
महासचिव गोविन्द देवकोटाले आज एक विज्ञप्ती निकाल्दै आक्रमणमा संलग्नलाई पक्राउ गरी कडा कारबाही गर्न स्थानीय प्रशासन र प्रहरीसँग आग्रह गर्नु भएको छ । दियालीलाई तीन दिनअघि अपरिचीत युवाहरूको समूहले चिया पसलमा कुटपिट गरेको थियो । दियालीको अहिले काठमाडौँमा उपचार भइरहेको छ ।
महासचिव देवकोटाद्वारा जारी विज्ञप्तिमा अपराधिक मानसिक्ता भएकाहरुबाट पत्रकार दियालीमाथि आक्रमण भएकाे र यो आक्रमण प्रेस स्वतन्त्रताविरुद्ध भएकाले घटनाको बारेमा सत्यतथ्य बाहिर ल्याउन पनि माग गरिएको छ ।
यसैबीच रेडियो सर्लाहीका अनुसार दियालीमाथि भएको आक्रमणको विरोध गर्दै हिजो दिउँसो नेपाल पत्रकार महासङ्घसहित सञ्चार सम्बद्ध संस्थाहरूले पूर्व–पश्चिम राजमार्गमा विरोध प्रदर्शन गरेका छन् ।
हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा विरोध र्याली निकालिएको थियो । एक समूहले गत मङ्गलबार बिहान दियालीमाथि आक्रमण गरेको थियो । कुटपिटबाट गम्भीर घाइते दियालीलाई हरिवन स्थित स्वाभीमान अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
आक्रमणमा संलग्न भएको आरोपमा हरिवन नगरपालिका–११ निवासी २० वर्षीय ईरफान देवानलाई पक्राउ गरी कारवाही प्रकृया अगाडि बढाइएको प्रहरी उपरीक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बिहीबार, फागुन २, २०७५, ०९:२४