काठमाडौं । डाक्टर युवराज खतिवडा सबैभन्दा धेरै राजनीतिक नियुक्ति खाने व्यक्ति बन्नु भएको छ । सम्भावत उहाँले अहिलेसम्म भएका राजनीतिक नियुक्तिमा सबैलाई उछिन्नु भएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले बताए । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले २०६६ सालमा राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएयता खतिवडाले आठौ नियुक्ति पाउनु भएको छ ।
निर्णयकर्तासँगको सम्बन्धका आधारमा पद लेनदेन हुन थालेको छ । पूर्वअर्थमन्त्री युवराज खतिवडा दुई सातामै दोस्रो नियुक्तिका लागि सिफारिस भएका छन् । राष्ट्रियसभाको सदस्य मनोनीत नभएपछि भदौ १९ गते मन्त्री पदबाट राजीनामा दिएका खतिवडालाई सरकारले भदौ ३० मा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गरेको थियो ।
लालशंकर घिमिरे त्यसअघि नै आर्थिक सल्लाहकार हुनुहुन्थ्यो । तर त्यो पद सरकारलाई आवश्यक परेर नभइ खतिवडाको व्यवस्थापनका लागि सिर्जना गरिएको दुई सातामै पुष्टि भएको छ ।
राष्ट्रिय योजना आयोगको सदस्य, उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर, राष्ट्रिय सभा सदस्य, दुईपटक मन्त्री, प्रधानमन्त्रीको सल्लाहकार हुँदै सबैभन्दा आकर्षक मानिने अमेरिकाको राजदूत पद पाउनु भएका खतिवडा योग्य भएपनि नियुक्तिमा निकटता आबश्यक रहेको थप पुष्टि भएको छ ।
निजामती सेवामा अहिलेसम्मकै कमजोर मुख्यसचिवको रुपमा ब्याख्या गरिने लोकदर्शन रेग्मीले पनि निकटताका आधारमा राजनीतिक पद हात पारेको सरकारी अधिकारीकै दावी छ । उहाँलाई मुख्यसचिवबाट राजीनामा गर्न लगाएर सरकारले बेलायतको राजदुतमा सिफारिस गरेको छ ।
रेग्मीले पूरा कार्यकाल काम गरेका भए कात्तिक ६ मा मात्र अवकाश पाउँथे। परराष्ट्र मन्त्रालयका सचिव वैरागीले असोज २२ मा सेवाबाट अनिवार्य अवकाश पाउँथे। तर वैरागीलाई मुख्यसचिव बनाउन त्यसअगावै रेग्मीलाई राजीनामा गर्न लगाइयो।
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७, ०८:३७