काठमाडौँ । दाङको भालुवाङमा ५ नम्बर प्रदेशको राजधानी र ‘लुम्बिनी’ नामाकरण गर्ने प्रस्तावमा आज प्रदेशसभाको बैठकमा छलफल हुने भएको छ ।
छलफलका लागि प्रदेश सभाको बैठक मध्यान्ह् १२ बजेका लागि बोलाइएको सभामुख पूणर् घर्तीका प्रेस सल्लाहकार गणेश ओलीले सीआईएनलाई जानकारी दिनुभयो । छलफलमा भाग लिनका लागि इच्छुक सांसदहरूलाई बिहान ११ बजेसम्म नाम टिपाउन भनिएको छ ।
सांसदहरूले विचार राखिसकेपछि संसोधन हाल्नका लागि आजबाट समय सुरु हुनेछ । प्रदेश सभाको तीन दिनअघिको बैठकमा प्रदेशको नामाकरण र राजधानी तोक्ने प्रस्ताव पेस भएको थियो ।
कतैबाट संसोधन परेन भने एकदुई दिनमा नामाकरण र राजधानीको विषय टुङ्गिने सामाजिक विकास मन्त्री सुदर्शन बरालले सीआईएनसँग बताउनुभयो । संसोधन सुरु भएको १८ घण्टापछि प्रक्रियामा जाने व्यवस्था छ ।
प्रक्रियामा जाँदा दुई तिहाइ अर्थात कुल ७९ सांसदमध्येमा ५८ मत आयो भने सरकारको प्रस्ताव पारित हुनेछ । पुगेन भने फेरि संसोधन प्रस्तावमा मतदान हुनेछ ।
५ नम्बर प्रदेश सरकारले नामाकरण र राजधानीको बारेमा ल्याएको प्रस्तावमा सत्तारुढ दलकै सांसद र काँग्रेसलगायतका दलहरूले असहमति जनाउँदै आएका छन् भने वुटवलमा नै राजधानी राख्नुपर्ने माग गर्दै आन्दोलन पनि भइरहेको छ ।
प्रदेश सभाको बैठक बस्नुअघि नेकपा प्रदेश ५ संसदीय दलको बैठक बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा दलले सांसदहरूलाई सरकारको प्रस्तावमा मतदान गर्नका लागि फेरि ह्विप जारी गर्ने भएको छ ।
सत्तारुढ नेकपाका १६ जना सांसद सरकारको प्रस्तावको विपक्षमा उभिएपछि थप छलफलका लागि संसदीय दलको बैठक आज बस्न लागेको हो ।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७, ०८:४७