जनकपुर । प्रदेश नम्बर २ सरकारले निमार्ण गर्ने सञ्चार नीति सामुदायिक रेडियोमैत्री बनाउन माग गर्दै सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै अकोराब नेपालले सामुदायिक रेडियोसँग सहकार्य गर्न प्रदेश सरकारलाई आह्वान गरेको छ ।
आज जनकपुरमा प्रदेश मुख्यमन्त्री लालबाबु रावतलाई ज्ञापन पत्र बुझाउँदै सामुदायिक रेडियोसँग सकारात्मक समाज रुपान्त्रण र सामाजिक विकासमा सहकार्य गर्न अपिल गरेको हो ।
अकोराबका महासचिव गोविन्द देवकोटाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री रावतलाई सञ्चार नीति निर्माण, सामुदायिक रेडियोको दिगोपना, स्थानीय र प्रदेश सरकारको रेडियो खोल्ने प्रावधान र यसले पार्न सक्ने प्रभाव लगायत विषयमा ध्यानाकर्षण गराएको छ ।
प्रदेश सरकार सञ्चार नीति निमार्णका क्रममा रहेको अवस्थामा सामुदायिक रेडियोको संरक्षण सम्वर्धन तथा विकास हुनेगरी नीती बनाउन ज्ञापनपत्रमा माग गरिएको हो । सामुदायिक रेडियोहरुको सुर्खेत राष्ट्रिय सम्मेलनले गरेको घोषणपत्र समेत प्रदेश सरकारलाई बुझाइएको छ ।
प्रदेश नम्बर २ का मुख्यमन्त्री रावतले सामुदायिक रेडियोमैत्री नीति निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रकाशित मिति: बुधबार, चैत १३, २०७५, १६:५२