काठमाडौँ । प्रदेश ५ को स्थायी राजधानी भालुबाङ बनाउने प्रदेश सरकारको प्रस्तावमा नेपाली काँग्रेसका सांसदहरुले मतदान गर्दा स्वविवेक प्रयोग गर्न पाउने भएका छन् ।
प्रदेशसभाको आजको मध्यान्ह्य १२ बजेपछिको बैठकमा भालुवाङलाई स्थायी राजधानी र लुम्बिनी नाम राख्ने प्रस्तावमा मतदान हुँदैछ।
वुटवलमा राजधानी बनाउनुपर्छ भनेर लागेका केही सांसदले काँग्रेसले सरकारको प्रस्तावको विरुद्ध मतदानका लागि ह्विप जारी गरेको भनेर हल्ला चलाएकोमा पनि बाँके, बर्दिया, दाङ,प्यूठान र रोल्पाका सांसदहरुले आपत्ति जनाएका छन् ।
सीआईएनसँग कुराकानी गर्दै काँग्रेस नेता दीपक गिरिले आफूहरुले प्रदेश ५ को राजधानीका सम्बन्धमा हुन लागेको निर्वाचनका बारेमा पार्टी सभापति शेरबहादुर देउवासँग भेटेर फर्केको बताउँदै सभापतिबाट सांसदहरुलाई स्वविवेक प्रयोग गर्नसक्ने धारणा आएको जानकारी दिनुभयो ।
'सभापतिबाट ह्विपभन्दा पनि स्वविवेक प्रयोग गर्न अनुरोध भएको छ । कतिपयले ह्विप जारी भएको भनेर हल्ला गरेका छन्।' गिरिले भन्नुभयो। 'जता पायक पर्छ, साथीहरुले पक्षविपक्षमा मतदान गर्नसक्ने छन् ।'
ह्विप जारी गर्ने वा नगर्ने विषयमा प्रदेश ५ काँग्रेसमा विवाद देखिएको छ ।
काँग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले सरकारको विपक्षमा मतदानका लागि ह्विप जारी गर्न प्रमुख सचेतक सुरेन्द्र हमाललाई अनुरोध गरेको भए पनि हमालले अस्वीकार गरेपछि कनौडियाले वुटवलमा नै राजधानी होस् भन्नका लागि आफे ह्विप जारेको स्रोतले जनाएको छ ।
पश्चिमबाट प्रतिनिधित्व गर्ने ६ जना काँग्रेस साँसदले भने कनौडियाको ह्विप नमान्ने बताइसकेका छन् । हिजो काँग्रेसका केन्द्रीय सदस्यसहितका प्रदेश ५ का १० जना नेताले सरकारले भालुवाङमा स्थायी राजधानी बनाउन गरेको प्रस्तावको स्वागत गरिसकेका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७, १०:४६