काठमाडौँ । ‘नमस्कार म पार्वती बिष्ट । म एक किशोरी । मेरो सवालमा म आफै बहस गर्न मैले रेडियो कार्यक्रमको नेतृत्व लिएको छु ।
अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा आज हामी हाम्रो नेतृत्व–हाम्रै सवालमा रेडियोमा विषेश सम्वाद गर्दैछौ । सिकाइ कहिल्यै रोकिँदैन भन्ने अभियान अन्र्तगत रेडियो रामारोशनमार्फत भइरहेको विषेश बहसमा तपाईहरूलाई स्वागत छ ।’
कोभिड १९ पछि शिक्षामा परेको असरका विषयमा छलफल गर्ने अवसर पाएपछि पार्वती बिष्ट रेडियो रामोशनमा पुग्नुभयो । आफ्नो सवालमा स्थानीय सरकारसँग एक घण्टा भएको बहसमा पार्वती खरो उत्रिनुभयो ।
कार्यक्रममा पार्वतीले कोभिड १९ पछि बालिकालाई निरन्तर सिकाइमा जोड्न आवाज उठाइरहनु पर्ने बताउँदै यसबाट थप हौसला मिलेको बताउनुभयो ।
पार्वती जस्तै बाजुराको बुढीनन्दाका लक्ष्मी रेग्मीले रेडियो बार्जुमार्फत आफ्ना सवालमा विषयमा छलफल गर्नुभयो । कोभिडपछि बालिका शिक्षामा परेको प्रभावका विषयमा स्थानीय सरकारलाई उहाँले ध्यानआकर्ष गराउनुभयो ।
‘सिकाइ कहिल्यै रोकिंदैन’ भन्ने विषेश अभियान घोषणा गरेको संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को), सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) र सीआईएनको संयोजनमा देशभरका २६ रेडियोमार्फत् ‘हाम्रो सवाल–हाम्रै नेतृत्वमा’ बहस गरेका छन् ।
लक्ष्मी र पार्वती जस्तै सुदूरपश्चिम जिल्लाको अछाम बाजुरा, प्रदेश नम्बर दुईको रौतहट, सर्लाही र प्रदेश १ को सुनसरीमा रहेका २६ रेडियोबाट किशोरीले आज अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा रेडियो बहस गरेका छन् ।
किशोरीहरुलाई नियमित संलग्नता भन्दा फरक भूमिका बहन गराएर कोभिडपछि बालिका शिक्षामा परेको असर र मुद्दाबारे स्थानीय सरकारसँग छलफल गरिएको छ ।
कार्यक्रम सञ्चालन पनि किहोरीहरुले नै गरेका छन् । २६ रेडियोमा ५५ किशोरीले स्थानीय सरकार प्रमुख, उप्रमुख र प्रशासकीय अधिकृतसँग कोभिड–१९ का कारण विद्यालय बन्द हुँदा बालिकाको संरक्षण, स्वास्थ्य र निरन्तर सिकाइमा परेको असरका विषयमा बहस गरेका हुन् ।
आजको बहसपछि स्थानीय सरकारले शिक्षामा परेको असरलाई कम गर्न र उनीहरूलाई विद्यालय फर्काउन के गर्न सकिन्छ ? भन्नेमा छलफल केन्द्रित गर्ने प्रतिवद्धता जनाएका छन् ।
अछामको चौरपाटी गाउँ पालिकाका उपप्रमुख माया कुँवरले बालिका दिवसका अवसरमा गरिएको बहसले आफूहरूलाई नयाँ ढंगले सोच्नेगरि आँखा खुलेको बताउनुभयो ।
“विद्यालय बन्द भएका बेला सिकाइ रोकिएको विषयाई हामीले सामान्य ढंगले लिएका थियौँ ।” उहाँले भन्नुभयाृ, “यसले गर्दा भोलि बालिका विद्यालय नआउन सक्छन्, घरमा रहँदा हिंसामा पर्न सक्छन्, बालविवाह हुनसक्छ भन्नेजस्ता विषय हामीले सोचेका रहेनछौँ । यो छलफलबाट अब स्थानीय सरकारले पनि सोच्नपर्ने रहेछ भन्ने बाटो देखाएको छ ।”
स्थानीय सरकार मात्रै होइन कार्यक्रम सुन्ने आम स्रोता, रोकारवाला निकायलाई समेत विषयबारे अवगत गराउने र आगामी दिनमा पनि चेतनामूलक अभियान चलाउनेपर्ने गरि सोच्न बाध्य बनाएको उपप्रमुख कुँवरको तर्क छ ।
अक्टोबर ११ मा विश्वभर मनाइएको आठौँ अन्तर्राष्ट्रिय बालिका दिवसको सन्दर्भमा ती रेडियोहरूमा किशोरीले नेतृत्व गर्दै स्थानीय तहका प्रतिनिधिहरूबाट समेत बालिकाको निरन्तर सिकाईका लागि प्रतिबद्धता जाहेर गर्न लगाए ।
सुनसरीका पुनम ऋषिदेवले धराना रहेको रेडियो गणतन्त्रबाट बालिका सिकाईको निरन्तरताका विषयमा कार्यक्रम चलाउनुभयो । पहिलो रेडियो कार्यक्रम चलाउनु भएका पुनमले स्थानीय मैली भाषामा कोभिडपछि शिक्षामा परेको असर, विद्यालय जान नपाउँदा बालिकालाई हुने समस्या, निरन्तर सिकाईका सवालमा स्थानीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।
‘कार्यक्रम चलाउन पाउँदा धेरै खुसी लाग्यो र आफूले पनि केही गर्न सक्छु भन्ने आत्मविश्वास जागेको छ ।’ उहाँले बताउनुभयो । रेडियो सर्लाहीबाट बाल क्लबका सदस्य मञ्जु शान्ति र आरती शान्तीले पनि बालिकाको शिक्षाको अधिकार विषयमा स्थानीय सरकार समक्ष जिज्ञासा राख्नुभयो ।
किशोरीको जिज्ञासाले स्थानीय सरकारलाई कोभिड १९ पछि बालिका शिक्षामा परेको प्रभाव र भोलिको निरन्तर सिकाइमा नयाँ ढङ्गले सोच्न बाध्य बनाएको वागमती नगरपालिकाका प्रमुख लीलाकुमारी मोक्तानले बताउनुभयो ।
रेडियोमा किशोरीले निरन्तर सिकाइ अभियान अन्र्तगत बिहानदेखि दिउँसोसम्म निरन्तर छलफल चलाएका थिए । नेपाली, डोटेली, मैली, बजिकासहितका स्थानीय भाषामा किशोरीले कार्यक्रम सञ्चालन गरेका थिए ।
कार्यक्रममा सम्पूर्ण वर्गका बालिका एवं किशोरीको आवाज समेटियोस् भनेर फरक क्षमता भएका, दलित, सीमान्तकृत, मधेसी, द्वन्द्वपीडित, छाउपडी प्रभावित लगायतलाई समेटिएको थियो । युनेस्कोका कार्यक्रम अधिकृत अनामिका गौचनले यसपाली अन्तराष्ट्रिय बालिका दिवसको नारा ‘मेरो आवाज, हाम्रो समान भविष्य’ सँग मिल्नेगरि निरन्तर सिकाइमा बालिकाको अधिकारसँग जोडेर भएको छलफलले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
किशोरीले आफ्नै हातमा माइक्रोफोन बोकेर सम्बन्धित निकायलाई जिम्मेवारी बोध र उत्तरदायित्व बहन गराउन सम्भव छ भन्नेमा अकोराब, युनेस्कोको सहकार्यमा भोलिका दिनमा पनि आबश्यक छ भन्ने यो छलफलले पुष्टि गरेको उहाँको भनाइ थियो ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन युनेस्कोको तथ्याङ्क अनुसार कोभिड–१९ पछि १ करोड १० लाखभन्दा बढी बालिकाहरू पुनः विद्यालय जान नसक्ने जोखिममा रहेको आँकलन गरिएको छ । नेपालमा पनि ५३ प्रतिशत किशोरी स्कूल फर्किन नसकेको हालै गरिएको एक सर्वेक्षणले देखाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७, १८:२६