काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । प्रधानमन्त्री ओलीले विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिनुभएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको जिम्मेवारी तोकिएको छ ।
लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिईएको छ भने यसअघिका महिला बालबालिका मन्त्री पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिईएको छ । कृष्णगोपाल श्रेष्ठले शहरी विकास मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
संघीय संसद्को सदस्य नरहे पनि मन्त्री बन्न पाउने संवैधानिक अधिकारअनुसार ६ महिना मन्त्री भएका डा. युवराज खतिवडाले २० भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएपछि अर्थ मन्त्रालय खाली थियो । डा. खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले नै सो मन्त्रालय सम्हाल्दै आउनु भएको थियो ।
गत ८ पुसमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि सहरी विकास मन्त्रालय तथा ८ फागुनमा विवादास्पद टेप प्रकरणका कारण गोकुल बाँस्कोटाले राजीनामा दिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त थियो ।
योसँगै मन्त्रिपरिषद २५ सदस्यीय बनेको छ । प्रधानमन्त्रीले मन्त्रीपरिषदका सदस्य र जिम्मेवारी हेरफेर गर्नुअघि हिजो पार्टीका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डसंग पनि छलफल गर्नुभएको थियो ।
अध्यक्ष प्रचण्डलाइ यसबारेमा जानकारी भएको भएपनि सहमति भने नभएको बिषय बाहिरिएको छ । यससंगै नेकपा भित्रको विवाद झन् बढ्न सक्ने देखिएको छ । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण भने आज हुँदैछ ।
कर्णाली विवादबारे आज छलफल
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र कर्णाली प्रदेशमा देखिएको विवादबारे आज छलफल हुने भएको छ । प्रदेश कमिटिका पदाधिकारीलाई काठमाडौँ बोलाएको छ ।
आज दिउँसो पार्टी कार्यालयमा छलफल हुने नेकपा सचिवालयले जानकारी दिएको छ । मंगलबार दिउँसो अध्यक्षद्धय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्माबीच भएको छलफलले सवै पदाधिकारीलाई काठमाडौ आउन पत्र पठाएको थियो ।
नेकपा कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा हुनुहुन्छ भने सहइन्चार्ज यमलाल कँडेल हुनुहुन्छ । प्रदेशका मुख्यमन्त्री तथा संसदीय दलका नेता शाहीलाई पनि काठमाडौ बोलाइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७, ०९:३१