काठमाडौं । सांसदहरूले युवाका सवाललाई संसदमा स्थापित गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय र प्रदेश सभाका सांसदहरूले युवालाई हेर्ने दृष्टिकोण बदलेर उनीहरूका सवालमा नयाँ ढङ्गले सोच्नुपर्ने बताएका छन् । ‘भर्चुअल युवा संसद स्कुल’कार्यक्रम अन्तर्गत शुक्रबार सांसदसँग सम्वाद विषेश कार्यक्रममा २ सयभन्दा बढी सहभागी युवाका प्रश्नको जवाफ दिँदै सांसदहरूले सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक तहका युवाको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।
सयुक्त राष्ट्र संघीय कार्यक्रम अन्र्तगत संसद सहयोग गरियोजनाको सहकार्यमा नेपाल राष्ट्रिय युवा सञ्जाल (आयोन) ले आयोजना गरेको कार्यक्रममा कर्णाली, सुदूरपश्चिम प्रदेश र प्रदेश २ का दुई सयभन्दा भन्दा बढी युवाको सहभागिता थियो । ६ दिनको ‘युवा संसद स्कुल’ कार्यक्रम शनिबार सकिँदैछ ।
‘युवाका साझा एजेण्डा के के हुन ? त्यसलाई स्थापित गर्नुपर्ने जरुरी छ ।’
युवाहरूलाई कानून निर्माण प्रक्रिया, संसदीय अभ्यास, युवाको सहभागितामा स्थानीय शासनमा जवाफदेहिता लगायतका विषयमा युवाहरूले प्रश्न गरेका थिए ।
सम्वाद विषेश कार्यक्रममा संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत संसदीय सुनुवाइ समितिका सदस्य सांसद पुष्पा भुसालले युवाको साझा सवालमा सांसद र युवाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
उहाँले युवाहरूले उठाएका सवाललाई गम्भिर रूपमा उठाउने प्रतिबद्धता जनाउनुभयो । ‘युवाका साझा एजेण्डा के के हुन ? त्यसलाई स्थापित गर्नुपर्ने जरुरी छ ।’ उहाँले भन्नुभयो, ‘सडक, सदन, राजनीति दलभित्र स्थापित भएका एजेण्डालाई रणनीतिक रूपमा कार्यान्वयन गर्ने कुरामा मेरो भूमिका सशक्त हुनेछ ।’
लोकतान्त्रिक पद्धति र प्रणालीलाई मजबुत बनाउने युवाको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै भूसालले नीति निर्माण तहमा युवाको हस्तक्षेपकारी भूमिकामा हुनुपर्नेमा जोड दिनुभयो ।
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सांसद दीपक प्रकाश भट्टले आफ्ना एजेण्डामा उभिन बाध्यहुनेगरी खबरदारी गर्न युवाहरूलाई आह्वान गर्नुभयो । उहाँले निर्वाचन प्रणालीको सुधार, अनियमितताको अन्त्य, रोजगारीको सुनिश्चितता, युवामैत्री विकासका लागि युवाहरूको चासो आवश्यक रहेको बताउनुभयो ।
यो सम्वादमा उठेका युवाका सवालहरूलाई संसदकै सबै फोरमहरूमा लैजाने र सशक्त ढङ्गले उठाउने उहाँको प्रतिवद्धता छ । उहाँले भन्न्ुभयो, ‘राजनीतिमा प्रत्यक्ष सहभागिता नभएपछि सरकार र राजनीतिक दलहरूलाई जिम्मेवार बनाउन युवाहरूले निरन्तर खवरदारी गर्नु जरुरी छ ।’
प्रदेश २ प्रदेश सभा प्राकृति सोत समितिका सदस्य सांसद विन्देश्वर यादवले युवाहरूका लागि रोजगारी सृजना गर्न संसदमा छलफल चलाउने बताउनुभयो । उहाँले सरकार र राजनीतिक दललाई लोकतान्त्रिक बन्न र नागरिकप्रति जिम्मेवार बनाउन युवाहरूको दवाव निरन्तर आवश्यक रहेको बताउनुभयो ।
वागमती प्रदेश सभा सार्वजनिक लेखा समितिका सदस्य सांसद रमेश पौडेलले युवालाई हेर्ने राजनीतिक दृष्टिकोण नै गलत भएको बताउनुभयो । ‘युवाहरूलाई सदैव पछाडि छाडिनु र तिनका मुद्दाको सुनुवाइ नहुनुको एउटा प्रमुख कारण मूलधारको नेपाली राजनीतिमा सशक्त युवा प्रतिनिधित्व नहुनु हो ।’
सांसद पौडेलले भन्नुभयो, ‘युवाहरू भविष्यका होइन वर्तमानका कर्णधान हुन भन्ने आत्मसात गरी युवालाई हेर्ने मानसिकता बदल्नुपर्छ, संरचनागत समस्या सुधार गर्नुपर्छ ।’ चारैजना सांसदहरूले युवासँग विषेश सम्वाद कार्यक्रमले युवाका विषयमा बहस गर्ने ढोका खोलेको टिप्पणी गरेका थिए ।
तीन वटा प्रदेशका २ सयभन्दा बढी युवाहरू सहभागी ‘भर्चुअल युवा संसद स्कुल’ कार्यक्रम गत सोमबारदेखि सुरु भएको हो । ६ दिनको कार्यक्रममा सबै दिनको संख्यालाई हिसाब गर्दा १२ सयभन्दा बढी युवाको सहभागिता रहेको आयोनका अध्यक्ष जगदीश ऐरले जानकारी दिनुभयो ।
युवाहरूलाई कानून निर्माण प्रक्रिया, संसदीय अभ्यास, युवाको सहभागितामा स्थानीय शासनमा जवाफदेहिता लगायतका विषयमा विज्ञहरूबाट प्रशिक्षण दिने उद्देश्यले युवा संसद स्कुल सञ्चालन गरिएको आयोनले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७, १०:११