काठमाडौं । ‘नेपालका प्रेरणादायी महिलाहरू’ भिडिओ भाग–१ सार्वजनिक भएको छ। मोतीदेवी स्मृति केन्द्रले अग्रज महिलाहरूको तस्वीर समावेश गरेर बनाइएको भिडियो शनिबार दिउँसो भर्चुअल कार्यक्रममार्फत् सार्वजनिक गरेको हो । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले भिडिओ सार्वजनिक गर्नुभयो ।
भिडिओमा राजनीतिक, साहित्य, समाजसेवा, आर्थिकलगायत विभिन्न क्षेत्रमा काम गरेका संघर्षशील र पुराना २२ जना महिलाको तस्वीर समावेश छ। करीब ३ मिनेटको भिडिओमा योगमाया न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य मध्येकी एक मोतीदेवी श्रेष्ठ, पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी, साहित्यकार पारिजात, सामाजिक अभियन्ता कनकलता बज्राचार्य, चन्द्रकान्ता मल्ल, लैंगिक विज्ञ चाँदनी जोशी, साधना र साहना प्रधान, शैलेजा आचार्य, स्नेहलता ओन श्रेष्ठ, नानीमैयाँ नकर्मी समेटिएका छन्।
पहिलो उपप्रधानमन्त्री शैलेजा आचार्य, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की, पहिलो पटक सगरमाथा आरोहण गर्ने पासाङ ल्हामु शेर्पा, पहिलो महिला टेम्पो चालक एवं उद्यमी लक्ष्मी शर्मा, साहित्यकार झमक कुमारी घिमिरे, पनि ‘प्रेरणादायी महिला’को रूपमा समावेश भएका छन्।
कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले जुनसुकै क्षेत्रमा पनि संघर्ष र योगदान दिएका सक्षम महिलाहरू पर्याप्त भएकाले हरेक क्षेत्रले नेतृत्वमा स्थान दिन कन्जुस्याईं गर्न नहुने बताउनुभयो ।कांग्रेस नेता गोपालमान श्रेष्ठले नेतृत्वमा गर्न सक्ने सक्षम धेरै भन्दा धेरै महिलाहरूको संघर्ष र सफलतालाई बाहिर ल्याउने काम प्रशंसनीय भएको भन्दै आगामी दिनमा पनि यस्तो कामको निरन्तरताका लागि सुझाव दिनुभयो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७, ०८:००