काठमाडौँ । मल्लकालीन शैलीमा पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको ताम्रपत्र अनावरण गरी उद्घाटन गरिएको छ ।
पाँच वर्षअघि २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भई गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएपछि रानीपोखरीको पुनर्निर्माण गरिएको हो । पुनर्निर्माणपछि रानीपोखरी क्षेत्र सांस्कृतिक चाडपर्व मनाउन आउने र स्वदेशी एवं विदेशी पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।
रानीपोखरी परिसरमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो बालगोपालेश्वर मन्दिरमा प्राणप्रतिष्ठा पूजाको आरती लिनुका साथै विभिन्न तीर्थस्थल, नदी र कुण्डबाट ल्याइएको जल रानीपोखरीमा अर्पण गर्नुभयो ।
आफ्ना दिदीबहिनी नहुने दाजुभाइले तिहारमा त्यहाँ गएर भाइटीका लगाउने चलन छ । बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा पुनर्निर्माण गरिएको छ ।
समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले विभिन्न समस्या र परिस्थितिसँग पौँठेजोरी खेल्दै ऐतिहासिक रानीपोखरीको पुरानै शैली, स्वरूप र प्रविधिमा पुनर्निर्माण भएको बताउनुभयो ।
राष्ट्रपतिले भन्नुभयो, ‘‘जुन दिन हामीले यहीँ उभिएर रानीपोखरी पुनर्निर्माणको थालनी गर्दै मुलुकभर पुनर्निर्माण महाअभियान सुरु भएको घोषणा गरेका थियौँ । आज रानीपोखरीको किनारमा उभिएर हामीले गरेको उक्त अठोट र प्रण पूरा हुन लागेको सुन्न र सुनाउन पाउँदा मलाई खुसी लागेको छ ।’’
सन्तान शोकमा डुबेकी आफ्नी रानीलाई शोकबाट मुक्त गरी व्यावहारिक जीवनमा फर्काउनका लागि संवत् १७२६ मा कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले रानीपोखरीको निर्माण गर्न लगाउनुभएको थियो ।
जङ्गबहादुर राणाद्वारा बेलायत भ्रमणपछि गुम्बज शैलीमा बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण गरिएको थियो । १९९० सालको भूकम्पबाट मन्दिरको गजुर भत्केपछि जुद्धशमशेर राणाद्वारा गुम्बज शैलीमै पुनर्निर्माण गरिएको थियो ।
गत असोज १५ गते बालगोपालेश्वर मन्दिरको शीर्ष भागमा १२३.७ किलोग्राम तामाबाट निर्मित सुनको जलप लगाइएको गजुर स्थापना गरिएको थियो ।
रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा करिब २८ करोड रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
दरबार हाइस्कुलको उद्घाटन
रानीपोखरीपछि राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनको सहयोगमा पुनर्निर्मित दरबार हाइस्कुलको समेत उद्घाटन गर्नुभयो ।
यसअघि रानीपोखरीको उद्घाटनका क्रममा उहाँले त्यसबखत विद्यालयहरू खुल्न नसकिरहेको परिवेशमा उक्त हाइस्कुल स्थापना भएपछि मुलुकमा शैक्षिक चेतना र जागरणका क्षेत्रमा नयाँ आयाम थपिएको चर्चा गर्नुभयो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले यही मङ्सिरभित्र सिंहदरबारको मुख्य भागको पुनर्निर्माण सम्पन्न गरी प्रधानमन्त्री कार्यालय सार्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले रानीपोखरीसँगै रहेको दरबार हाइस्कुलको पुनर्निर्मित भवनको उद्घाटन गर्नुभयो । त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतको
सहभागिता थियो ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ६, २०७७, ०७:५९